स्वाप रेसियोमा कुरा नमिलेपछि मर्जरको सम्भावना टरेको हो : अध्यक्ष श्रेष्ठ | पञ्जाव नेशनल बैंकका सीईओलाई नेपालमा भव्य स्वागत
काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले एभरेष्ट र लक्ष्मी बैंकबीच हुने भनिएको मर्जरको सम्भावना टरेको बताएका छन् । उनले भने, ‘दुई बैंकबीच मर्जरका लागि व्यापक छलफल पनि भयो, तर अन्त्यमा स्वाप रेसियोमा कुरा नमिलेपछि तत्कालका लागि मर्जरको सम्भावना टरेको छ ।’
पञ्जाव नेशनल बैंक भारतका प्रमुख कार्यकारी अधिकृत सुनील मेहताको स्वागतमा आज शुक्रवार एभरेष्ट बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले मर्जरको सम्भावना टरेको खुलासा गरेका हुन् ।
पछिल्लो समय यी दुई ठूला बैंकहरूबीचको मर्जर (बिग मर्जर) ले सर्वत्र चर्चा पाएको थियो । तर अब मर्जरको सहमति भाँडिएसँगै बिग मर्जर पनि तत्काल नहुने देखिएको छ ।
अध्यक्ष श्रेठ भने, ‘पहिले राजेन्द्र खेतानजी नै आउनुभएको थियो, उहाँ आएपछि स्वाप रेसियोको विषयमा अध्ययन भयो, लक्ष्मीको २.७५ कित्ता शेयरबराबर एभरेष्टको एक कित्ता शेयर हुने गरी अध्ययनले देखाएपछि खेतानजी पछि हट्नुभयो ।’
अध्यक्ष श्रेष्ठले मर्ज गर्छु भनेर मात्रै नहुने बताउँदै मर्जका लागि आवश्यक कुरा पूरा गर्न दुवै पक्ष सहमत हुनुपर्ने बताए । एभरेष्ट र लक्ष्मी दुवै ‘सुन’ नै भए पनि सुनमा पनि २२ र २४ क्यारेट हुने उनको भनाइ थियो ।
मर्जरका लागि बसेको पहिलो छलफलमा खेतान आए पनि पछिल्लो छलफलमा उनी नआएको र उनका प्रतिनिधिहरूले २.७४ मा सहमति नजनाएको अध्यक्ष श्रेष्ठले बताए । लक्ष्मीसँगको मर्जर सम्भावना टर्नुको कारण मोततोल नै भएको उनको भनाइ छ । उनले भने, ‘यसअघि अन्य बैंकमा पनि मर्जरको विषयमा छलफल भएको हो । तर, बैंकमा भएका कर्मचारी युनियनका कारण मर्जर असफल भएको हो ।’ ।
अरु बैंकमा आफ्ना नातागोता कर्मचारी राखेका कारण युनियनका नाममा समस्या सिर्जना भए पनि आफ्नो बैंकमा त्यस्तो समस्या नरहेको उनको दाबी थियो ।
पञ्जाव बैंकका सीईओको स्वागत
आज शुक्रवार एभरेष्ट बैंकले भारतकै दोस्रो ठूलो र १२४ वर्ष पुरानो बैंक पञ्जाव नेशनल बैंकका सीईओ सुनील मेहताको भव्य रूपमा स्वागत गर्यो । उक्त बैंकको लगानी एभरेष्ट बैंकमा पनि रहेको छ । भारतको अनारकली बजार लाहोरमा सन् १८९५ मा स्थापना भएको यो बैंक १९४७ मा भारतको विभाजनपछि लाहोरबाट दिल्लीमा सरेको थियो । यस बैंकले भारतमा ७ हजार शाखा कार्यालय र ९ हजार एटीएमबाट सेवा दिइरहेको छ ।
सोही बैंकको संयुक्त लगानीमा नेपालको एभरेष्ट बैंक २५ वर्षअघि स्थापना भएको हो ।



