एक दर्जन सातसिटे हेलिकोप्टरका बेन्च सिट हटाइसकियो, हटाउने क्रम जारी |
काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेपछि सरकारले सातसिटे हेलिकोप्टरबाट बेन्च सिट हटाउन शुरू गरेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर यस्तै थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले हलिकोप्टरबाट बेन्च सिट हटाउन कम्पनीहरूसँग सहमति गरिसकेको छ ।
केही कम्पनीहरूले त बेन्च सिट हटाई पनि सकेका छन् । प्राधिकरणका एक अधिकारीका अनुसार एएस ३५० को ६ं१ सिटवाला हेलिकोप्टरलाई अब ५ं१ मा राखेर मात्रै राखेर चलाउने सहमति भएको छ । एयरबसका हेलिकप्टरमा यस्ता बेन्च सिटहरू हुन्छन् । प्राधिकरणका एक उच्च अधिकारीका अनुसार झण्डै एक दर्जन हेलिकोप्टरका यस्ता सिट हटाइसकिएको छ ।
प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘यस्ता हेलिकोपटरका बेन्च सिट कम्पनीबाटै जडान भएर आएका हुन्छन् । तर, हाम्रोजस्तो उच्च हिमाली क्षेत्रमा उडान गर्दा यस्तो सिटमा यात्रु राखेर उडान गर्नु उचित देखिएन, साथै यात्रु तथा पाइलटको प्रवृत्तिलाई ध्यानमा राख्दा पनि सातसिटे हेलिकोप्टरको बेन्च सिटलाई हटाउनुपर्छ भनेर निष्कर्षमा पुगेका हौं ।’
हेलिकोप्टर कम्पनीहरू पनि बेन्च सिट हटाउन तयार भएका छन् । महानिर्देशक गौतम नेपालको भूगोललाई ध्यानमा राखेर यस्तो सहमति बनेको बताउँछन् ।
फागुन १५ गते ताप्लेजुङमा यस्तै ६ प्लस १ क्षमताको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहति सात जनाको मृत्यु भएको थियो । त्यस्तै, सगरमाथा आधार शिविर क्षेत्रको गोरक्षा हेलिप्याडमा तत्कालका लागि प्राधिकरणले उडान अवतरण रोकेको छ । त्यहाँको मौसमको प्रतिकूलता र दैनिक रूपमा बढ्दो हेलिकोप्टरको चापलाई हेरेर उडान अवतरण रोकिएको प्राधिकरणले बताएको छ ।



