एकैसाथ तीन नेपाली उत्पादन बजारमा, गरे के हुँदैन ? |
काठमाडौं । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन भन्ने ओखलढुंगाका एक युवाले प्रमाणित गरेर देखाएका छन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका– १०, कटुञ्जे घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका राज पराजुलीले आफूले विदेशमा सिकेको सिपलाई व्यवहारमा उतार्दै रू. ८ लाखको लगानीमा एकैसाथ तीनवटा नयाँ उत्पादन नेपाली बजारमा ल्याएका छन् ।
अघिल्लो महिनासम्म भारतको एक हर्बल उद्योगमा टेक्निसियनको रूपमा काम गर्दै आएका पराजुलीले उक्त कम्पनीको काम छोडेर नेपाल आई एकसाथ ‘हाम्रो ट्वाइलेट क्लिनर’, ‘हाम्रो ग्लास क्लिनर’ र ‘हाम्रो फिनेल’ ब्राण्डका नेपाली उत्पादन बजारमा ल्याएका हुन् ।
छ महिनाअगाडि कम्पनी दर्ता गरे पनि विभिन्न कारणले गर्दा भर्खरै उत्पादन शुरू गरिएको उनले बताए । आफ्नो उद्योगले नेपाली बजारमा उपलब्ध अन्य उत्पादनभन्दा उच्च गुणस्तरीय उत्पादन बजारमा ल्याएको दाबी उनको छ । विदेशमा बस्नुभन्दा आफ्नै जन्मथलोमा बसेर केही गर्ने आँटका साथ नेपाल फर्किएका उनी ‘हाम्रो ट्वाइलेट क्लिनर’, ‘हाम्रो ग्लास क्लिनर’ र ‘हाम्रो फिनेल’ ब्राण्डका नेपाली उत्पादन बजारमा गएको ७ दिनमै आफूले सोचेभन्दा राम्रो बजार पाएकोमा दंग छन् । आफ्ना उत्पादनले बजारमा राम्रो हिस्सा ओगट्ने कुरामा आफू ढुक्क रहेको उनी बताउँछन् । बजार पाउनेमा ढुक्क बनेपछि उनले उत्पादन बढाएर जाने सोच बनाइसकेका छन् ।
हाल कपनमै उद्योग सञ्चालन गर्दै आएका उनी आफ्नो उद्योगमा लगानी अझ बढाएर अघि बढ्ने सोचमा रहेको बताउँछन् । ‘कर भिजन हर्बल उद्योग’ नामको उद्योग दर्ता गरेर उत्पादन शुरू गरेका उनले ‘हाम्रो’ ब्राण्डको ट्वाइलेट क्लिनर रू. ११० (५ सय एमएल), ग्लास क्लिनर रू. १२० (५ सय एमएल) र फिनेल रू. ६५ (५ सय एमएल) मा बजारमा उपलब्ध रहेको जानकारी दिएका छन् ।



