हब्र्स एक्स्पोमा १ करोडको कारोबार, जडिबुटी निर्यातका लागि बंगालादेश र चीनसँग सम्झौता |
काठमाडौं । काठमाडौंको छायाँ सेन्टरमा शुरु भएको हब्र्स एक्स्पो १ करोड रुपैयाँको कारोबार गर्दै आइतबार समापन भएको छ । ‘गुणस्तरीय जडिबुटी दिगो अन्तरराष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि शुरु भएको उक्त एक्स्पो आइतबार सकिएको हो ।
करिब ५० वटा स्टलमा रहेको सो मेलामा १० हजार जनाभन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । व्यापारिक केन्द्र ठमेलमा भएको मेलामा नेपालमा पाइने औषधिजन्य वनस्पति तथा सुगन्धित तेल सम्बन्धी बुझ्न र प्रमाणिकरण गरिएका अर्गानिक सामान किन्न ग्राहकहरु आएका हुन ।
मेला अवधिभर करिब १ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकको दाबी छ । एक्स्पोमा नेपाल, बंगालादेश, चीन, फ्रान्स, क्यानडा लगायतका अन्य मुलुकका प्रतिनिधिहरुबीच अन्तरक्रिया समेत भएको छ । अन्तरक्रियामा जडिबुटी क्षेत्रका मानिसहरुको प्रतिनिधित्व भएका कारण यस्ता छलफलले नेपालको जडिबुटी क्षेत्रलाई माथि लैजान धेरै सहयोग पुग्ने नेपाल हब्र्स तथा हर्बल उत्पादक संघका महासचिव सुशील ज्ञवालीले जानकारी दिएका छन् ।
प्रविधि, व्यापार, ब्रान्ड प्रोमोशन, नीति तथा मुल्य श्रृङ्खला जस्ता विषयमा भएका यस्ता छलफल मार्फत यो क्षेत्रको विकास गर्ने संघको उद्धेश्य अनुसार नै कार्यक्रम भएका ज्ञवालीले जानकारी दिएका छन् । ८ औं मेलाको सफलतासँगै नवौं नेपाल हब्र्स एक्स्पोलाई अन्तरराष्ट्रिय एक्स्पोको रुपमा मनाउने नेपाल हब्र्स तथा हर्बल उत्पादन संघका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिएका छन् ।
सोही मेलाको अवसरमा नेपाल, बंगालादेश र नेपाल, चीनबीच जडिबुटी उत्पादक र व्यापार तथा उपयोग गर्ने संघहरुबीच सम्झौता समेत भएको आयोजकले जानकारी दिएको छ ।



