प्याराग्लाइडिङसहित फेवातालमा खस्दा एक पर्यटकको मृत्यु |
पोखरा । आज आइतवार बिहान करिब ११ बजे सराङकोटबाट प्याराग्लाइडिङमा उडेका एक पर्यटकको पोखराकै फेवातालमा खसेर मृत्यु भएको छ । प्याराग्लाइडिङसँगै फेवातालमा खस्दा रोमानियाका एड सिजरको मृत्यु भएको हो ।
फेब्रुअरी २३ मा उनीसहित उनका ९ जना साथी नेपाल आएका आएका थिए । ४२ वर्षीय सिजर आफैंले पर्मिट लिएरै उक्त प्याराग्लाइडिङ चलाएका थिए । फेवाघाटमै डुंगा व्यवसाय गरिरहेका ब्रजेश कसजु श्रेष्ठको ५ जनाको टोलीले हाते डुंगा लिएर गई सिजरको उद्धार गरे । श्रेष्ठले भने, ‘उद्धार टोली त हामी पुगेको ५ मिनेटपछि मात्रै पुग्यो, हामीसँग मोटरबोट भइदिएको भए बचाउन सकिन्थ्यो ।’
उद्धार टोलीले तुरुन्तै पोखराकै मेट्रो सिटी अस्पतालमा उपचारार्थ पुर्याए पनि अस्पतालले उनलाई मृत घोषणा गरिदियो । मृतक प्याराग्लाइडरको पोस्टमार्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । प्रहरीका अनुसार जमिनमा अवतरण गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर उनी फेवातालमा खसेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
Visited 1 times, 1 visit(s) today


