प्रहरी परिसरलाई काठमाडौं महानगरले दियो ३ करोड | अब विभिन्न क्षेत्रमा सीसी क्यामेरा जडान हुँदै,कहाँ कहाँ जडान गर्ने भन्ने दुवैको सहमतिमा यकिन हुने
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिने भएको छ । काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको सहकार्यमा सीसी क्यामेरा जडान गरिन लागेको हो । सीसी क्यामेरा जडानका लागि काठमाडौं महानगरपालिकाले महानगरीय प्रहरी परिसरलाई ३ करोड रुपैयाँ उपलब्ध गराएको छ । हिजो बुधवार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले परिसरलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् ।
महानगर क्षेत्रभित्रको शहरी सुव्यवस्थापन, शान्तिसुरक्षा कायम, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण, प्रदूषण न्यूनीकरण, रात्रिकालीन आवागमन व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षणलगायतका कार्य गर्न सजिलो होस् भन्ने उद्देश्यले सीसी क्यामेरा जडानका लागि नेपाल प्रहरीसँग सहकार्य गरिएको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।
गत माघ २५ गते बसेको नगर कार्यपालिकाको बैठकले परिसरलाई सीसी क्यामरा जडानका लागि सघाउने निर्णय गर्दै चालू आवको नीति तथा कार्यक्रममा ३ करोड रपैयाँ विनियोजन गरेको थियो ।
महानगरभित्रका कुन कुन क्षेत्रमा सीसी क्यामेरा जडान गर्ने भन्ने निर्णय दुवै पक्षको सहमतिमा यकिन गरिने बताइएको छ । क्यामेरा जडान भएसँगै यसअघि हुने गरेका घटनामा कमी ल्याउन र दोषी किटान गरी कारबाहीको प्रक्रिया अघि बढाउन सहयोग पुग्ने महानगरपालिकाको विश्वास छ ।

