वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड सर्यो बबरमहलमा, अब सबै सेवा बबरमहलबाट |
काठमाडौं । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले अब आफ्ना सबै सेवा काठमाडौंको बबरमहलस्थित नेपाल औषधि लिमिटेडको भवनबाट दिने भएको छ । यसअघि बानेश्वरस्थित सचिवालयबाट दिइँदै आएको सेवा पनि अबदेखि बबरमहलबाटै दिइने बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार हाल कार्यालय सर्ने काम भइरहेको छ ।
वैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन, व्यवस्थित, कामदारको हकहितको संरक्षणजस्ता काम बोर्डले गर्दै आएको छ । बोर्डबाट हालसम्म मुख्य रूपमा मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एवम् अंगभंग भएकालाई उपचार खर्च, विदेशमा अलपत्र परेका शव नेपाल ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन, विदेशमा सुरक्षित गृह सञ्चालन गर्नेजस्ता कार्य हुँदै आएको छ ।
त्यसैगरी, नयाँ अन्तरराष्ट्रिय श्रम बजारको खोजीका लागि अध्ययन, वैदेशिक रोजगार प्रवद्र्धनका लागि सूचना संकलन, प्रशोधन र प्रकाशन गर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषको परिचालन गर्ने, वैदेशिक रोजगारीमा गएका कामदारको हित संरक्षणलगायतका काम पनि बोर्डले गर्दै आएको छ ।
सरकारको योजनाअनुसार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै केही गर्न चाहने युवाहरूलाई १० लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराउने कामसमेत शुरू गरेको छ ।

