देशभरका ४८ हजार चालकलाई प्रशिक्षण दिइँदै | प्रत्येक महिना एक पटकमा २० जनालाई प्रशिक्षण दिइने, निःशुल्क स्वास्थ्य शिविर पनि गरिने
काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्न ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिइने भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संठनले अभियान नै चलाएर देशभर त्यस्तो प्रशिक्षण दिन लागिएको जानकारी दिएको हो ।
संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार संठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न उक्त अभियान सञ्चालन गर्न लागेको हो । उनका अनुसार नेपालमा दैनिक ७÷८ जनाको सडक दुर्घटनामा ज्यान जानेको गरेको छ । उनले भने, ‘सातै प्रदेशमा रहेका सवारीसाधनमा कार्यरत सवारी चालक र सहचालकलाई सडक अनुशासन र ट्राफिक नियमबारे जानकारी दिन्छौं, जसले गर्दा दुर्घटनामा कमी आओस् ।’
उक्त संगठनले ‘सवारी दुर्घटना न्यूनीकरण सम्भव छ’ भन्ने नारासहित प्रत्येक महिना एकपटकमा न्यूनतम २० जना चालक तथा सहचालकलाई ट्राफिक प्रहरीमार्फत प्रशिक्षण गराउने व्यवस्था गरिने बताएको छ । सो अभियानअन्तर्गत संगठनले ‘म जिम्मेवार यातायात मजदुर’ भन्ने स्टिकर पनि सार्वजनिक यातायातमा टाँस्ने बताएको छ ।
‘मादक पदार्थ सेवन गरी सवारी चलाउँदिन’, ‘सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिनँ’, ‘महिला, बालबालिका तथा अशक्तलाई सम्मान गर्छु’, ‘बालश्रम प्रयोग गर्दिनँ’, ‘तीव्र गतिमा सवारी चलाउँदिन’, ‘तोकिएको भन्दा बढी भाडा लिन्नँ,’ ‘सधैं ट्राफिक नियमको पालना गर्छ’ जस्ता वाक्यहरू ती स्टिकरमा प्रयोग गरिनेछ ।
त्यस्तै, संगठनले यातायात मजदुरलाई हुने रक्तचाप, मधुमेह, आँखा, मुटु, मिर्गोलाजस्ता रोग परीक्षणका लागि शिविर राखी निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्ने भएको छ ।



