विद्युत् वितरण प्रणाली अण्डरग्राउण्ड गर्न कम्पनी छानियो | ९० हजार ग्राहकका घरमा स्मार्ट मिटर पनि सँगै जोडिने
काठमाडौं । काठमाडौंमा अब विद्युत् वितरण प्रणाली अण्डरग्राउण्ड हुने भएको छ । त्यसका लागि नेपाल विद्युत प्राधिकरणले कम्पनी समेत छानिसकेको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले तार भूमिगत गर्न सबैभन्दा कम रकम कबोल गर्ने भारतीय कम्पनी केईआई इण्ड्रष्ट्रिज लिमिटेड छानिएको जानकारी दिएको छ ।
कम्पनीले महारजगञ्ज वितरण केन्द्रअन्तर्गतको काममा २ करोड ५५ लाख ८१ हजार अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख रुपैयाँमा (करबाहेक) ठेक्का सकारेको छ । रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम २ करोड २९ लाख डलर र ८३ करोड १५ लाख रुपैयाँमा (करबाहेक) मा सम्झौता हुनेछ ।
निर्देशनालयले कम्पनीलाई कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौता गर्न बोलाइसकेको छ । अबको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौता हुनेछ ।
प्राधिकरणका अनुसार पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गत अण्डरग्राउण्डबाट विद्युत् वितरण गर्ने काम गरिनेछ । अण्डरग्राउण्ड लाइनबाट विद्युत वितरण गर्ने कामको पूर्वाधार तयार गर्ने कम्पनी छनोट गर्न विद्युत प्राधिकरणले गत कात्तिकमा टेण्डर आह्वान गरेको थियो ।
पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भूमिगत र आधुनिकीकरण (अटोमेशन) गरिँदै छ ।
विद्युत् लाइनको तार भूमिगत गरिएपछि विद्युत वितरणको काम अझ बढी प्रभावकारी र सुरक्षित हुने अपेक्षा गरिएको छ । पहिलो चरणका काम सम्पन्न भएपछि उपत्यकाका सबै वितरण केन्द्रमा काम अघि बढाइने र ग्राहकको घरमा स्मार्ट मिटर पनि जोडिने प्राधिकरणले बताएको छ । तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्रका करिव ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गरिनेछ ।
यो आयोजनाका लागि एशियाली विकास बैंक (एडीबी) ले १५ करोड अमेरिकी डलर ऋण दिँदै छ । यो प्रणालीले तारका कारण हुने दुर्घटनाको जोखिम कम हुने र शहरी सौन्दर्यमा पनि टेवा पुग्नुका साथै वितरण व्यवस्था पनि चुस्त हुने विश्वास गरिएको छ । सरकारले भविष्यमा देशका सबै भागमा वितरण व्यवस्थामा यो प्रणाली जडान गर्ने लक्ष्य राखेको छ ।
दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना प्राधिकरणको छ ।



