बैंकिङ क्षेत्रका बारेमा विद्यावारिधि गर्नेलाई १० लाख इनाम |
काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) ले समग्र बैंकिङ क्षेत्रका बारेमा विद्यावारिधि गर्नेहरूलाई रू. १० लाख उपलब्ध दिने घोषणा गरेको छ । एनबीआईका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले संस्था सञ्चालनको १० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा त्यस्तो घोषणा गरेका हुन् ।
उनले बैंकिङ क्षेत्रको समस्या पहिचानका साथै समग्र बैंकिङ क्षेत्रलाई फाइदा पुर्याउने विषयमा सोध गर्नेलाई १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् । उनका अनुसार त्यसका लागि एनबीआईले सोध छनोटका लागि विज्ञ समूह बनाउँछ । त्यसले छनौट गरेपछि मात्र १० लाख रुपैयाँ उपलब्ध हुनेछ । यसका लागि कार्यविधि बनाउने उनले जानकारी दिए ।
सोही कार्यक्रममा एनबीआईले वित्तीय साक्षरतासम्बन्धी मोबाइल एप पनि सार्वजनिक गर्यो । उक्त एपमा बैंकिङ तथा वित्तीय क्षेत्रका बारेमा आवश्यक जानकारी राखिएको एनबीआईले जानकारी दिएको छ ।




