माछापुच्छ्रे बैंक खोल्यो एकैपटक पाँचवटा शाखारहित बैंकिङ सेवा |
काठमाडौं । माछापुच्छ्रे बैंकले हालै एकैपटक पाँचवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा गरी पाँचवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले चितवनको इच्छाकामना गाउँपालिका (मुग्लिङ) स्थित फिस्लिङमा, तनहुँको म्याग्दी गाउँपालिकास्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिकास्थित दुईपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिकास्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित भत्केपाटी, पीपलबोटमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरूमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
पाँचवटा शाखारहित बैंकिङ सेवाको उद्घाटनसँगै बैंकका अब ६१ वटा शाखारहित बैंकिङ सेवा संख्या पुगेका छन् ।
ती शाखारहित सेवा केन्द्रहरूबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यास भुक्तानी, कर्जा आवेदन गर्नेजस्ता सेवाहरू प्रदान गरिने बैंकले बताएको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था र चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउने व्यवस्था गरेको छ ।




