एलआईसी नेपालको नयाँ प्रोडक्ट ‘जीवन साथी’को अनावरण |
काठमाडौं । ‘रहनेछ साथ, जीवन पश्चात्’ भन्ने सन्देशका साथ एलआईसी नेपालले आफ्नो नयाँ प्रोडक्ट ‘जीवन साथी’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । उक्त नयाँ प्रोडक्टको यही फागुन १ गते बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अनावरण गरेका हुन् ।
कम्पनीले सार्वजनिक गरेको उक्त योजनामा १८ देखि ६० वर्षसम्मका व्यक्तिहरूले यो जीवन बीमा योजनामा सहभागी हुनसक्ने बताएको छ । कम्पनीका अनुसार न्यूनतम बीमांक रकम २ लाख कायम गरिएको उक्त योजनाको अधिकतम बीमांक बीमा अन्डरराइटिङ नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि १५ वर्षको हुनेछ ।
बीमा अवधिमा बीमितको निधन भएमा बीमांक र बोनस रकम निजको श्रीमान् वा श्रीमतीलाई प्रदान गरिन्छ र बाँकी अवधिका लागि निजको श्रीमान्÷श्रीमतीलाई बीमांकको ५० प्रतिशत निःशुल्क जीवन बीमा जोखिम बहन गरिन्छ ।
यस योजनामा अधिकतम् ७५ लाख रुपैयाँसम्मको दुर्घटना सुरक्षण र स्थायी अशक्तता लाभसमेतको व्यवस्था गरिएको छ । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्ने कम्पनीले बताएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले बीमितले यस योजनामार्फत आफ्नो जीवन साथीप्रति अपार माया र स्नेह दर्शाउँदै परिवारमा वित्तीय सुरक्षा प्रदान गर्न सकिने बताए ।




