मेगा बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता, विभिन्न सेवामा २० प्रतिशतसम्म छुट |
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट सीईओ अनुपमा खुञ्जेली र अस्पतालको तर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब मेगा बैंकका कर्मचारी तथा ग्राहकहरूलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने बताइएको छ । सम्झौताअनुसार मेगा बैंकका ग्राहकहरूले ब्लु क्रस अस्पतालमा ईसीजी, इको, कोलोनोस्कपी, प्याथोलोजी, अल्ट्रासाउण्ड र सिटी स्क्यान परीक्षण गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् भने आईसीयू, क्याबिन र वार्डमा ७ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यसैगरी, मेगा बैंकका ग्राहकलाई कुनै शल्यक्रिया गर्नुपरेमा अस्पतालले शल्यक्रिया शुल्क, बेड र मेडिकल शुल्कमा १० प्रतिशतसम्म छुट दिने भएको छ । दाँत परीक्षणमा २० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ ।
ग्राहकहरूको स्वास्थ्यलाई दृष्टिगत गरी बैंकले यसअघि नर्भिक, ग्राण्डी, स्टार अस्पताल, गोल्डेन, ग्रीनसिटी, उच्चता, बयोदा, चिरायुलगायतका अस्पतालसँग सम्झौता गरेर छुटको व्यवस्था गरिसकेको छ ।




