चन्द्रगढी–पोखरा सीधा हवाई सेवा विस्तारका लागि पहल गर्छौं : अध्यक्ष पोखरेल |
काठमाडौं । पोखरा पर्यटन परिषद्ले नेपालमा सीधा हवाई सञ्जालका साथै त्यहाँसम्म पुग्ने बाटो पनि स्तरोन्नति गर्न पहल गर्ने बताएको छ । नेपाल–भारत सीमानजिकै रहेको चन्द्रगढी विमानस्थलबाट पोखराका लागि सीधा हवाई सेवा विस्तारका लागि भारतीय पर्यटन व्यवसायीको सुझाव आएकाले परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले त्यस्तो पहल गरिन लागेको बताएका हुन् ।
पोखरा पर्यटन परिषद्को आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गरिएको उत्तरपूर्वी भारतको प्रवद्र्धनात्मक भ्रमणको आइतवार आयोजित समापन समारोहमा परिषद्का अध्यक्ष पोखरेलले त्यस्तो भनाइ राखेका हुन् ।
उनले भने, ‘नेपाल–भारत सीमानजिकै रहेको चन्द्रगढी विमानस्थलबाट पोखरा सीधा हवाई सम्पर्क नभएकोप्रति भारतीय पर्यटन व्यवसायीको गुनासो रहेको छ । त्यहाँका पर्यटन व्यवसायीले नेपालको हवाई सेवालाई प्रभावकारी बनाउन तथा त्यहाँसम्म पुग्ने बाटो पनि स्तरोन्नति गर्न हामीलाई सुझाव दिएका छन् ।’
सो अवसरमा सहभागी टोलीका सदस्यलाई अध्यक्ष पोखरेल र नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवम् वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले प्रमाणपत्र प्रदान गरे । कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलका अनुसार प्रवद्र्धनात्मक भ्रमण टोलीले उत्तरपूर्वी भारतका ६ राज्यमा पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता संगठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनले आयोजना गरेको ‘बंगाल ट्राभल मार्ट’मा सहभागी भई व्यावसायिक साझेदारीका विषयमा छलफल गर्यो ।
त्यस्तै, टुर अपरेटर एशोसिएशन अफ आसामका पदाधिकारीसहित त्यहाँका पर्यटन व्यवसायीसँग पनि गुहाटीमा पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल भयो ।


