बेनी–जोमसोम सडकमा चैतबाट कालोपत्र गरिँदै | चार प्याकेजमा धमाधम भइरहेको छ : आयोजना
गलेश्वर । बहुचर्चित तथा देशकै राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको सडकमा आगामी चैतबाट कालोपत्र हुने भएको छ । भारत र चीनलाई जोड्ने नेपालको सबैभन्दा छोटो उक्त सडक कालोपत्र गर्ने कार्य चार प्याकेजमा विभाजन गरी धमाधम भइरहेको आयोजनाले जानकारी गराएको हो ।
७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले बताएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले भने, ‘अहिले चार प्याकेजमा धमाधम काम भइरहेको छ र आगामी चैतदेखि कालोपत्रको काम शुरू गरिनेछ ।’
उनले हालसम्म बेनी–जोमसोम–कोरला सडक आयोजनाको झण्डै ५५ प्रतिशत भौतिक प्रगति भएको जानकारी पनि दिए । उनका अनुसार बेनीदेखि कोरलासम्मको १८६ किलोमिटर सडकमा ११ प्याकेजमा काम भइरहेको छ । चालू आर्थिक वर्षभित्र विभिन्न ठाउँमा मोटरेबल पुल निर्माणबाहेक जोमसोम–कोरला सडक स्तरोन्नतिको काम सकिने उनको भनाइ छ ।
Visited 1 times, 1 visit(s) today


