सेनासँग सम्झौताभएपछि नलगाडको काम तीव्र रूपमा अघि बढ्यो |
जाजरकोट । जाजरकोटमा निर्माणाधीन नलगाड जलविद्युत् आयोजनाको काम आयोजना र सेनाबीच सहमति भएपछि पुनः सुचारु भएको छ । विस्फोटक पदार्थ प्रयोग गर्नेसम्बन्धमा सेना र आयोजनाबीच सम्झौता भएपछि निर्माणको काम अघि बढेको हो ।
सेनाले सहमतिबिना विस्फोट पदार्थ प्रयोग नगर्ने अडान लिएपछि झण्डै तीन महीनादेखि आयोजनाको सडक र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को ड्रिफ्ट टनेल टेस्ट गर्ने कार्य रोकिएको थियो ।
सम्झौताअनुसार अब आयोजनाले विस्फोट गराउने कार्यका लागि फिल्डमा खटिएका सेनाको बीमा, दैनिक भम्रण भत्ता, खाजा तथा खाना भत्ता, सुरक्षालगायत सेवासुविधा उपलब्ध गराउनेछ । सेनासँग सम्झौता नहुँदा सडक निर्माणका लागि चट्टानमा खोपिएका २ हजार ७०० ‘होल’ विस्फोट हुन नसकेर काम रोकिएको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिए ।
हाल उक्त सम्झौता भएसँगै आयोजनाको बाँधस्थलसम्म जाने सडक निर्माणका लागि विस्फोटनको काम शुरू भएको छ । त्यस्तै, विद्युत् उत्पादन गृहको भूमिगत सुरुङ (ड्रिफ्ट टनेल टेस्ट) मा विस्फोट गराउने काम पनि शुरू भएको छ । सम्झौतापछि अहिले तीव्ररुपमा काम अगाडि बढेको इञ्जिनीयर थापाले जानकारी दिए ।
४१० मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि यस आयोजनाबाट ६०० मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने विज्ञहरूको दाबी छ ।


