इरानद्वारा १ हजार ३५० किलोमिटर टाढासम्म हान्ने क्षेप्यास्त्रको सफल परीक्षण |

तेहरान । इरानले एक लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको हिजो शनिवार दाबी गरेको छ । उसले १ हजार ३५० किलोमिटर टाढासम्म हान्ने क्षमता रहेको नयाँ मिसाइलको नाम भने बताएको छैन ।
‘होभेइजेहबाट गरिएको क्षेप्यास्त्रले एक हजार २०० किलोमिटर टाढाको दूरीमा ठीक निशानामा हान्न सफल भएकाले यो परीक्षण सफल भएको छ,’ इरानी रक्षामन्त्री अमिर हतामीलाई उद्धृत गर्दै राज्य सञ्चालित टेलिभिजनले बताएको छ । टेलिभिजनले परीक्षणको दृश्यचित्रसमेत देखाएको थियो ।
‘इरानले शनिवार परीक्षण गरेको हतियार तयारका लागि छोटो समय मात्र लाग्ने र यो निकै होचो क्षेत्रमा पनि उड्ने क्षमता रहेको छ,’ उनले बताए । उनले लामो दूरीको हतियार आफ्नो सुरक्षाका लागि प्रयोग गरिने बताए ।
इरानले १९७९ मा भएको ‘इस्लामिक क्रान्ति’ दिवस मनाइरहेको समय नयाँ मिसाइलको परीक्षण हुनुलाई संयोग मात्र भएको जनाएको छ ।