कालीगण्डकी कोरिडोरको काम अघि बढ्ने भो, सरकारले छुट्यायो दुई खण्डलाई रू. २० करोड |
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरलाई थप व्यवस्थित गर्न सरकारले रू. २० करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्रिदेशीय सीधा सम्र्पक हुने उक्त कोरिडोरलाई १० मिटर कायम गर्ने उद्देश्यले बजेट विनियोजन गरिएको बताएको हो ।
नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो नाकाका रूपमा रहेको कालीगण्डकी करिडोरको निर्माण कार्य पछिल्लो समय बजेट नभएकाले काम हुन सकेको थिएन । निरन्तर पहलभएपछि सरकारले रू. २० करोड बजेट विनियोजन गरेको सांसद डा. सूर्य पाठकले जानकारी दिए ।
उक्त बजेटमध्ये रू. १० करोड बागलुङ खण्डमा र रू १० करोड गुल्मी खण्डमा खर्च गरिने बताइएको छ । उक्त खण्डको निर्माण कार्य आगामी चैतदेखि वैशाखसम्मा सक्नेगरी नेपाली सेनाको निर्माण कार्यदललाई आग्रह गरिएको छ । अहिले तत्कालका लागि बागलुङ खण्डमा मालढुांदेखि बलेवा विमानस्थलसम्म १० मिटर सडक चौडा पार्ने कार्य हुनेछ ।
लामो समयसम्म अगाडि बढ्न नसकेको कालीगण्डकी कोरिडोरको काम नेपाली सेनालाई जिम्मा दिएपछि तीव्रता पाएको हो । बागलुङ खण्डमा पर्ने ३६ किलोमिटरसहित गुल्मीमा समेत गरी ८० किलोमिटर साधारण बाटो खोल्ने काम नेपाली सेनाले जिम्मा लिएको थियो । बागलुङ खण्डको ट्रयाक मात्रै खोल्नका लागि रू. ३३ करोडभन्दा बढी खर्च भएको छ । अहिले करिडोरअन्तर्गतको सबैजसो खोलामा बेलिब्रिज हालिएको छ ।
चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने छोटो दूरीको यो सडक आयोजना त्रिदेशीय व्यापार तथा पारवहनमा महत्वपूर्ण नाका बन्ने बताइएको छ । चीनको कोरलादेखि भारतको सुनौलीसम्मको ४३५ किमीको यो छोटो दूरीको सडक आयोजना हो । यो सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारतसम्म जोड्नेछ ।
Visited 1 times, 1 visit(s) today


