सबै शाखाबाट सहुलियतपूर्ण कर्जा देऊ : राष्ट्र बैंक |
काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंकहरूलाई आफ्ना सबै शाखाहरूबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन निर्देशन दिएको छ । सरकारले जारी गरेको कार्यविधि अनुसारको सहुलियतपूर्ण कर्जा नपाएको भन्दै जनगुनासो धेरै आएपछि राष्ट्र बैंकले परिपत्र नै जारी गरेर त्यस्तो आग्रह गरेको हो ।
सरकारले गत असोजमा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ तयार गरी लागू गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो ।
कार्यविधिअनुसार इच्छुक र योग्य आवेदनकर्तालाई सबै शाखाबाट सहुलियतपूर्ण ऋण उपलब्ध गराउन वाणिज्य बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन छ ।
कार्यविधि अनुसार व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्किएका युवा परियोजना कर्जालगायतका सातवटा शीर्षकमा सर्वसाधारणले ३ लाखदेखि ५ करोड रुपैयाँसम्म ऋण लिन सक्नेछन् ।



