मुक्तिनाथ विकास बैंकको नयाँ शाखा कुपण्डोलमा |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा ललितपुरको, कुपण्डोलमा बिहीबारबाट औपचारीक सेवा शुभारम्भ गरेको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि महर्जनले बैंकिङ्ग कारोवार सहज र सरल हुनुपर्नेमा जोड दिए ।
मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ प्रदान गर्नु उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस भन्दै महर्जनले शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले स्वागत र यस विकास बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस), फ्रेण्डस क्लवका अध्यक्ष राजीव राज पौडेलले बैंकको सफलताको शुभकामना मन्तब्य राखेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।
उद्घाटन समारोहका सभाध्यक्ष तथा संचालक समितिका सदस्य गजेन्द्र मान श्रेष्ठले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिवद्वता व्यक्त गरेका थिए ।
मुक्तिनाथ विकास बैंकको हाल सम्म काठमाण्डौ उपत्यका भित्र कुपण्डोल लगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर, जोरपाटी, ठमेल र भक्तपुरको कमलविनायक गरी १४ शाखाहरु संचालनमा आई सकेका छन् ।



