प्रभु बैंकको नाफा ७३ प्रतिशतले वृद्धि भई अर्ब नाघ्यो | बैंकको निक्षेप खर्बभन्दा बढी, खराब कर्जामा १.६५ प्रतिशत विन्दुले सुधार
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनामै १ अर्बभन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले प्रकाशन गरेको दोस्रो त्रैमासको रिपोर्टअनुसार बैंकले यो ६ महिनामा १ अर्ब ४ करोड नाफा कमाएको छ । बैंकले गत वर्षको सोही अवधिमा कमाएको भन्दा ७३.३२ प्रतिशतले नाफा बढाएको छ ।
बैंकले गत वर्षको सोही अवधिमा ६० करोड ११ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । चालू आवको यो अवधिमा खराब कर्जा उठेसँगै बैंकको नाफा बढेको हो । गतवर्ष बैंकको खराब कर्जा ४.१२ प्रतिशत रहेकोमा अहिले १.६५ प्रतिशत विन्दुले सुधार भएको छ ।
बैंकको ब्याज आम्दानी ३६ प्रतिशतले सुधार भएर खर्च १७ प्रतिशतले मात्रै बढेको देखिन्छ । यसो हुँदा खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भएको छ । बैंकको खुद ब्याज आम्दानी ७६ प्रतिशतले बढेर २ अर्ब २२ करोड रुपैयाँ भएको छ ।
बैंकले चालू आवको हालसम्ममा १ खर्ब ४ अर्ब रुपैयाँ संकलन गरी ८८ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्न सफल भएको देखिन्छ । गतवर्षको यो अवधिमा ८६ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन र ७१ अर्ब ७७ करोड रुपैयाँ ऋण लगानी रहेको थियो ।
बैंकले यस वर्ष ४० प्रतिशतले पूँजी वृद्धि गरेर ८ अर्ब २३ करोड रुपैयाँ पुर्याएको छ भने हकप्रद लिलामको प्रिमियमसहित जगेडा कोषमा ५ अर्ब ६० करोड रुपैयाँ जम्मा गरेको छ ।
बैंकले थोरै विन्दुले आधार ब्याज दर घटाएर ९.३७ प्रतिशत कायम भएको छ भने पूँजी वृद्धिसँगै नाफामा पनि उल्लेख्य सुधार गर्दा प्रतिशेयर आम्दानी ५ रुपैयाँले बढाएर २५ रुपैयाँ पुर्याएको छ ।




