भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१९ शुरू | उपराष्ट्रपति पुनले गरे उद्घाटन, कुलमान घिसिङ सम्मानित
काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को आयोजनामा आज शुक्रबारबाट ‘हिमालयन हाइड्रो एक्स्पो २०१९’ शुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको उक्त एक्स्पोको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् ।
एक्स्पोमा ८५ भन्दा बढी प्रदर्शकहरूले १ सयभन्दा बढी स्टल राखेका छन् । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिति रहने अनुमान गरिएको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए ।
इभेन्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको उक्त एक्स्पोमा जलविद्युत प्रवद्र्धक, उपकरण आपूर्तिकर्ता, लगानीकर्ता, बैंक तथा बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको छ ।
एक्स्पोमा चीन, भारत, अष्ट्रिया, कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया, बेलायतलगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरूको सहभागिता रहेको छ । जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरूको धेरै सहभागिता एक्स्पोमा रहेको छ ।
आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिङ उपकरणका क्षेत्रमा प्रख्यात भोईथ, इपिरोक माइनिङ इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीईपीपीईआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेशन, डीईसी डङफेङ इलेक्ट्रिक मेशिनरी, जेसीबी, हुण्डाइलगायत कम्पनीका उत्पादनहरू यस महोत्सवका मुख्य आकर्षण रहेका छन् ।
कुलमान घिसिङ सम्मानित
‘हिमालयन हाइड्रो एक्स्पो २०१९’ को अवसर पारेर निजीक्षेत्रका ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मानपत्र प्रदान प्रदान गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदमा रही राष्ट्रलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालका लागि पुर्याएको योगदानको उच्च कदर गर्दै घिसिङलाई सम्मानित गरिएको इप्पानले बताएको छ ।
२०७३ साल भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापन गर्दै मुलुकले बेहोरिरहेको कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए । उनले सो पदमा नियुक्त हुँदा झण्डै ९ अर्ब नोक्सानीमा रहेको प्राधिकरणलाई वित्तीय र प्रशासनिक सुधार गरेर नाफामा लगेका छन् । उनकै नेतृत्वमा प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत आयोजना, प्रसारण लाइन र वितरण आयोजनाका कामले पनि तीव्रता पाएको छ ।
सो अवसरमा कार्यकारी निर्देशक घिसिङले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको चर्चा गर्दै यसलाई पूरा गर्न नै प्राधिकरणले ‘टेक अर पे’ मा विद्युत खरिदको नीति लिएको खुलासा गरे । सरकारले हालै लिएको नीतिले निजी प्रवद्र्धकलाई जलविद्युत् क्षेत्रमा लगानी गर्न उत्साह थपिएको उनको भनाइ थियो ।



