सिन्धुलीको खाङसाङ बेंसीमा माघ २ गतेदेखि ‘फिक्कल महोत्सव २०७५’ आयोजना हुँदै | खर्च रू. ४० लाख, १ लाख पर्यटक भित्र्याउने लक्ष्य, च्याकुटारदेखि घुर्मीसम्म -याफ्टिङ
काठमाडौं । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाले पहिलोपल्ट ‘सडक, शिक्षा र बिजुली फिक्कलको पूर्वाधार, कृषि, वन र पर्यटन समृद्धिको मूल आधार’ नाराका साथ ६ दिने ‘फिक्कल महोत्सव २०७५’ आयोजना गर्ने भएको छ । आगामी माघ २ देखि ६ गतेसम्म फिक्कल गाउँपालिका वडा नं. ४, खाङसाङ बेंसीमा सञ्चालन हुने उक्त महोत्सवका लागि झण्डै ४० लाख खर्च हुने र १ लाखभन्दा बढी आन्तरिक पर्यटकले उक्त महोत्सवको अवलोकन गर्ने मेला आयोजक समितिकी संयोजक पार्वती सुनुवारले जानकारी दिइन् । उनले महोत्सव आयोजनाका लागि तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी दिइन् ।
महोत्सवबारे जानकारी दिन हिजो बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सिन्धुली क्षेत्र नं. १ का सांसद गणेश पहाडीले धार्मिक तथा प्राकृतिक विशेषतायुक्त फिक्कललाई पर्यटकीयस्थलको रूपमा स्थापित गराई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न, जलस्रोत, स्थानीय कृषिउपजको बजार विस्तार गर्न, विभिन्न जातजातिका सांस्कृतिक पक्षहरूको प्रचार प्रसार गर्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए । उनले यस्ता खाले महोत्सवको आयोजनाले स्थानीय उत्पादनको प्रवद्र्धन हुन गई बजार विस्तार हुने र पर्यटनको पनि प्रवद्र्धन भई रोजगारीको अवसर खुल्नुका साथै यहाँका स्थानीयको आयस्तर वृद्धि हुने दाबी गरे ।
फिक्कल गाउँपालिकाका प्रमुख धनबहादुर कार्कीले पहिलोपल्ट आयोजना गर्न लागिएको उक्त महोत्सवलाई अबदेखि हरेक वर्ष आयोजना गरिने र यस्ता खाले महोत्सवले यो क्षेत्रमा रहेका सम्भावित क्षेत्र जस्तै, कृषि, जलस्रोत, पर्यटन, जडीबुटी आदिको प्रचारप्रसार हुने बताए ।

उनले भने, ‘महोत्सवले स्थानीय उत्पादनको प्रचारप्रसार हुनुका साथै बजार प्रवद्र्धन गर्नमा ठूलो योगदान पुग्छ । अर्को कुरा, जिल्लाकै अग्लो चुचुरो फिक्कल पनि यसै क्षेत्रमा पर्ने भएकाले उक्त चुचुरोको प्रचारप्रसार हुन सके आन्तरिक तथा बाह्य पर्यटक पनि भित्र्याउन सकिन्छ । जसले गर्दा यहाँका स्थानीय बासिन्दाहरूका लागि रोजगारी र व्यवसायका धेरै बाटोहरू खुल्न सक्छन् ।’
मेलाका आकर्षण
आयोजकका अनुसार महोत्सवमा १२० वटा स्टलको व्यवस्था गरिएको छ भने प्रवेशका लागि रू. ५० र विद्यार्थीका लागि प्रवेश शुल्क रू. ३० लाग्नेछ । महोत्सवमा स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठ, दुग्धजन्य वस्तु तथा अल्लोका कपडाहरू, गाउँपालिकाभित्रका मौलिक उत्पादनहरूको प्रतियोगितात्मक प्रदर्शनी, सो क्षेत्रमा उत्पादन हुने किवी तथा आलुलगायत अन्य कृषि उत्पादनहरूको प्रदर्शनी गरिनेछ ।
सुनकोशीमा -याफ्टिङ
त्यसैगरी, वित्तीय संस्था तथा अन्य सेवामूलक संघसंस्थाहरूका सेवाबारे जानकारी दिइने, प्याराग्लाइडिङ र च्याकुटारदेखि घुर्मी बजारसम्म सुनकोशीमा -याफ्टिङको व्यवस्था गरिएको छ । जिल्लाकै अग्लो डाँडा फिक्कलको पैदल यात्रा गरी अवलोकन, किवी र आलको पकेट क्षेत्र दमारको अवलोकनजस्ता व्यवस्था पनि गरिएको छ ।
यस क्षेत्रका विभिन्न जातजातिका धार्मिक तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिने उक्त मेलामा ब्राम्हण जातिको भजनसमेत प्रस्तुत गरिनेछ ।
मनोरञ्जनतर्फ केके छन् ?
मनोरञ्जनका लागि नेपालका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति हरेक दिन प्रत्यक्ष हेर्न पाइने उक्त मेलामा दोहोरी गीत प्रतियोगिता र अन्तरविद्यालय गायन र नृत्य प्रतियोगिता पनि आयोजना हुने बताइएको छ ।
अन्य क्रियाकलाप
त्यसैगरी, महोत्सव अवधिभर उद्योग, पर्यटन कृषिसम्बन्धी अन्तरक्रिया, क्रेता र विक्रेताबीच अन्तरक्रियाजस्ता कार्यक्रम पनि राखिएको आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रममा सिन्धुली क्षेत्र नं. १ का सांसद गणेश पहाडी, फिक्कल गाउँपालिकाका प्रमुख कार्की, उपाध्यक्ष एवम् मेला आयोजक समितिकी संयोजक सुनुवार, नेकपा फिक्कल गाउँपालिकाका पार्टी अध्यक्ष रामप्रसाद भण्डारी, नेपाली कांग्रेस फिक्कल गाउँपालिकाका पार्टी सभापति दिलनाथ पहाडी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना तिमल्सिना शर्मालगायतको उपस्थिति रहेको थियो ।
महोत्सवको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आगामी माघ २ गते उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् ।



