डेढ करोड ठग्ने गेट्स कन्सल्टेन्सीका सञ्चालक पक्राउ |

काठमाडौं । विदेश पठाइदिने भन्दै युवाहरूबाट डेढ करोडभन्दा बढी रकम ठगी गर्ने एक कन्सल्टेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिन्छु भन्दै ठगी गर्ने पुतलीसडकस्थित गेट्स कन्सल्टेन्सीका सञ्चालक पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका अनुसार सञ्चालक ढकाललाई हिजो बुधवार दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो ।
महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनालबाट क्यानडा पठाइदिने भनेर रू. ७ लाख ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए । पक्राउपछि अन्य १९ जनाभन्दा बढी व्यक्तिबाट त्यस्तै गरी ठगी गरेको खुलासा भएको उनले बताए ।
ठगी गरेको पैसा खनालले मागेपछि ढकालले खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताए ।