दार्चुलामा एनआईसी एशियाका थप दुईवटा शाखारहित बैंकिङ सेवा |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले दार्चुला जिल्लामा थप दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यूके एड सक्षम एक्सिस टु फाइनान्स कार्यक्रमकोे सहकार्यमा दार्चुला जिल्लाको महाकाली नगरपालिका– ७, धाप र सोही नपाको वडा नं. ९, दत्तुमा आपm्ना २१औं र २२औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
धापमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह ठगुन्ना तथा दत्तुमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको सोही नपा–९ का वडाअध्यक्ष हर सिंह डाँगाले उद्घाटन गरेका हुन् ।
बैंकले धापमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाका लागि प्रतिनिधिको रूपमा शेर सिंह रैखोलालाई नियुक्त गरेको छ भने दत्तुमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाका कृष्णसिंह चौैसिरलाई नियुक्त गरेका जानकारी दिएको छ ।
सञ्चालनमा ल्याइएका दुवै शाखारहित बैंकिङ सेवाबाट उक्त क्षेत्रका ग्रामीण बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने बैंकले बताएको छ । उक्त सेवाको सञ्चालनबाट बैंकिङ कारोबारका लागि स्थानीय बासिन्दाहरूलाई लामो दूरीसम्म हिँडेर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यस्तो सेवाबाट स्थानीय बासिन्दाहरूले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको सावाँ तथा ब्याज भुक्तानी, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्नेजस्ता कार्यहरू गर्न सक्ने बैंकले बताएको छ ।
सक्षम यूके एडद्वारा सञ्चालित एक्सिस टू फाइनान्स कार्यक्रममा आधारित डीएफआईडी नेपालको लुइस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानीय तथा अन्तरराष्ट्रिय संघसंस्थाहरूसँगको साझेदारीमा नेपालमा वित्तीय पंहुँच तथा सवलीकरणका लागि कार्य गर्दै आइरहेको छ ।
उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटनसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या अब २२ पुगेको छ । बैंकले हाल २ सय ७२ वटा शाखा कार्यालय, २ सय ८७ एटीएम र ३७ वटा एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एवम् आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
हाल उक्त बैंकको वासलातको आकार रू. २१२ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४५ अर्ब पुगी निजीक्षेत्रबाट सञ्चालित बैंकहरूमध्ये सबैभन्दा ठूलो बैंकको रूपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हाल यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख पुगिसकेको छ ।




