ग्लोबल आईएमई बैंकको नयाँ शाखा नवलपरासीको गैंडाकोटमा |
काठमाडौं । ग्लोबल आईएमई बैंकले नवलपरासी बर्दघाट सुस्ता–पूर्व जिल्लाको गैंडाकोटमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको प्रदेश सांसद कृष्णचन्द्र नेपालीले उद्घाटन गरेका हुन् ।
सो अवसरमा सांसद नेपालीले गैंडाकोटलगायत देशका अन्य गाँउपालिकाहरूमा ग्लोबल आईएमई बैंकले आफ्नो शाखा विस्तार गरेर गाउँगाउँमा रहेका सर्वसाधारण जनतालाई बैकिङ पहुँचमा ल्याउन गरेको योगदानको सराहना गरे ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो क्षेत्रमा जम्मा भएको रकम सोही क्षेत्रमा प्रयोग गर्ने बताएका छन् । कार्यक्रममा नवलपरासी बर्दघाट सुस्ता–पूर्वका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, गैंडाकोट नगरपालिकाका उपमेयर विष्णुकुमारी कँडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनलगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
१२ वर्षअघि स्थापना भएको यस बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय ३३ शाखा, १४१ एटीएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजस्व संकलन काउण्टर र १ सय १५ शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधिसम्पर्क कार्यालयमार्फत ९ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


