जाडोमा यसरी गरौं बगैंचाको हेरचाह |
जाडो मौसममा बगैंचाको सुन्दरता कायम राख्न विशेष हेरचाह गर्नुपर्छ । यो मौसममा बगैंचाको राम्रो हेरचाह तथा कीराको नियन्त्रण गर्न सकेमा अन्य मौसममा झैं धेरै फूल फुल्न सक्छन् । जाडो मौसमका लागि कम तापक्रममा हुर्कने फूलहरूको छनोट गर्नुपर्छ । जाडो बढ्दै जाँदा फूलका बिरुवा जोगाउन विशेष मेहनत गर्नुपर्ने हुन्छ । जाडोले साना बिरुवा मात्र नभएर ठूला बिरुवा मर्ने सम्भावना पनि रहन्छ । चिसोमा माटो जम्ने हुनाले राम्रोसँग पानी सोस्न नसक्दा बिरुवाहरू सुक्छन् । जाडो मौसममा बिरुवाको हेरचाहमा सहयोगीसजिला केही तरीका यसप्रकार छन् ː
सफाइ
बगैंचाको माटो एकपटक खनेर त्यसमा भएको घाँस तथा काम नलाग्ने अन्य वस्तु निकाल्नुहोस् । यसले गर्दा त्यहाँ लगाइएका बिरुवाले राम्रोसँग पानी सोस्न सक्छन् । यदि माटोमा चिस्यान कायमै रहेमा लगाइएका फूलहरू झन् राम्ररी सप्रनेछन् ।
भिजेका घाँस फिजाउने

भिजेको घाँसले माटोलाई गर्मी तथा नरम बनाउन मद्दत गर्छ । यसले बिरुवाको जरालाई चिसो लाग्नबाट जोगाउँछ । साथै, यसले नयाँ उम्रने घाँसलाई दबाएर उम्रन दिँदैन ।
प्लाष्टिकले छोप्नुहोस्
यदि जाडो धेरै नै बढेको छ भने लगाइएका फूलहरू प्लाष्टिकले छोप्नुपर्छ । यसो गर्दा बिरुवाहरू मर्न पाउँदैनन् ।
सधैं पानी दिनुहोस्

तपाईंले लगाएका बिरुवा सधैंभरि सप्रिएको हेर्न चाहनुहुन्छ भने त्यसलाई सधैं पानी दिइरहनुपर्छ । तर, केही फूलहरूलाई कम पानीको आवश्यकता पर्ने भएकाले सावधानीपूर्वक पानी दिनुहोस् ।
मल हाल्नुहोस्

महीनामा एक वा दुईपटक फूलका बिरुवामा मल राख्नुपर्छ । सुकेका पात, तरकारीका बोक्रा तथा अन्य प्राकृतिक पदार्थलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ ।
Visited 2 times, 1 visit(s) today


