एनसीसी बैंकले लाभांश पारित गर्न मंसिर २ गते बोलायो एजीएम |
काठमाडौं । एनसीसी बैंकले मंसिर २ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभामा बैंकले ३.३६% बोनस सेयर र ७.६३% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १५ गते बुक क्लोज गर्ने भएको छ ।
तसर्थ, बैंकले कात्तिक १५ गतेसम्म सेयर दर्ता किताबमा कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने जनाएको छ । तथापि, यसले कुमारी बैंकसँग मर्जर सम्झौता गरेको हुनाले असोज ११ गते देखि बैंकको कारोबार रोक्का रहेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।


