दक्षिण एशियामा बढ्दै गएको बहुआयामिक संकटका बारेमा गम्भिर बन्न नागरिक संगठनका अभियन्ताहरुको आग्रह |
काठमाडौं । दक्षिण एशियामा बढ्दै गएको बहुआयामिक संकट र असमानताकाबारेमा गम्भीर बन्न दक्षिण एशियाका नागरिक संगठनका अभियन्ताहरुले आग्रह गरेका छन् ।
काठमाडौँमा सम्पन्न गरिबी उन्मूलनका लागि दक्षिण एशिया मञ्च (South Asia Alliance for Poverty Eradication (SAAPE) कोे छैटौँ वार्षिक सभा तथा जनसार्क वैठक (२६ र २७ मे २०२२) मा सहभागी दक्षिण एशियाका सामाजिक अभियन्ता, अधिकारकर्मी तथा विज्ञहरुले यस क्षेत्रमा बढ्दै गएको आर्थिक, राजनीतिक र सामाजिक संकट तथा कोभिड पश्चातको आर्थिक पुनरुत्थानका विषयहरुमा गम्भीर बन्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् ।
दक्षिण एशियाका महिला, दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायले भोग्दै आएका विभेद र वञ्चितिकरणको अन्त्य नभएसम्म असमानता वढ्दै जाने भएकोले हामीले चाहेको सामाजिक न्याय र समानता हासिल हुन नसक्नेतर्फ सचेत गराउँदै कार्यक्रमका सहभागीहरुले सम्वन्धित देशका सरकारहरुलाई उचित नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
कार्यक्रममा आर्थिक, राजनीतिक र मानवीय संकट बेहोरिरहेका दक्षिण्का एशियाली देशहरु श्रीलंका र अफगानिस्तानका बारेमा विशेष प्रस्तुति भएका थिए । अफगानिस्तानका एक सामाजिक अभियन्ताले तालिवान सत्तामा आएपछि आर्थिक, राजनीतिक र सामाजिक प्रणाली ध्वस्त भएको र धेरै नागरिकहरु विस्थापित जीवन विताइरहको बताउनुभयो । अफगानिस्तानी नागरिक आधारभूत मानवअधिकारबाट वञ्चित भएको जनाउँदै उहाँले महिला र बालबालिकाको अवस्था थप दर्दनाक रहेको बताए । साथै उहाँले यो अवस्थामा सुधार गर्नका लागिअन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।
यसैगरी श्रीलंकाका निमल्का फर्नान्डोले श्रीलंकाको आर्थिक संकटबारे जानकारी दिँदै त्यहाँका नागरिकहरु चरम् संकटमा रहेको बताए । गलत राजनीतिक र आर्थिक नीतिका कारण अहिलेको समस्या उत्पन्न भएको बताउँदै फर्नान्डोले आन्तरिक र बाह्य ऋणका कारण अहिलेको संकट गहिरिएको बताए । उनले श्रीलंकामा चरम मूल्यवृद्धि, औषधी अभाव र वैदेशिक मुद्राको अभाव भएको समेत जानकारी दिए ।
कार्यक्रममा दक्षिण एशियामा बढ्दै गइरहेको वहुआयामिक संकट र असमानताका बारेमा छलफल गरी दक्षिण एशियामा सामाजिक आन्दोलनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । यस अन्तर्गत कोभिड १९ का कारण कमजोर हुँदै गएको आर्थिक प्रणाली, वित्तीय सुशासन, दक्षिण एशियाको गरिबीको अवस्था, असमान ज्याला, सुशासन, ऋण, प्रगतिशील कर, लैंगिक न्याय, वातावरणीय संकट एवम् कृषि र खाद्य प्रणाली, लोकतन्त्र र मानवअधिकार, स्वास्थ्य प्रणाली र कोभिड विरुद्धको खोप तथा आर्थिक पुनरुत्थान जस्ता विषयहरुमा छलफल भएको थियो ।
छलफलमा इन्डियाका बाबु माथ्यु, जाकीया सोमन, बाबु पी रमेश, नीता, शोभा रघुराम, बंगलादेशका सहनाज सुमि, मनोवर मुस्तफा, श्रीलंकाकी लोगेश्वरी पुनि, नलिनी रतनराज, नेपालका हरि शर्मा, सुशील प्याकुरेल, डा. नेत्र तिम्सिना, शर्मीला कार्की, उद्धव प्याकुरेल, कनकमणी दीक्षित, डा. अर्जुन कार्की, विमला राई (पौडेल), डा. प्रेम दंगाल, भुटानका गोविन्द रिजाल, पाकिस्तानका फारुक तारिकले दक्षिण एशियाको समग्र अवस्था र नयाँ सामाजिक आन्दोलन र जनसंघर्षका बारेमा आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रम भौतिक उपस्थिति र भर्चुअल गरी हाइब्रीड मोडलमा सम्पन्न भएको थियो । भेलामा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, पाकिस्तान, श्रीलंका र नेपालका प्रतिनिधिहरुको सहभागिता रह्यो । यस भेलाले दक्षिण एशियाका उपरोक्त विषयहरुमा ३१ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै दक्षिण एशियाको संकट समाधान गर्न जनसार्कलाई अझ मजबुत बनाउँदै सामाजिक अभियानहरुलाई सुदृढ र गतिशील बनाउनुपर्नेमा जोड दिएको छ ।
दक्षिय एसियाका विभिन्न देशहरुका सरकारहरुले लागु गरेको नवउदारवादी नीतिका कारणले खाद्य संकट, इन्धन संकट, उर्जा संकट र जलवायू परिवर्तनमा संकट ल्याएको विषय साधारण सभाले महसुश गर्दै घोषणापत्रमा दक्षिण एसियाका विभिन्न देशहरुमा देशमा अवलम्बन गरिएको नवउदारवादी अर्थ राजनीतिक नीतिले श्रीलंका, अफगानिस्तान जस्ता मुलुकहरुका निम्त्याएको गम्भीर संकटको सम्वोधन गर्न अन्तर्राष्ट्रिय पहल गरिनुपर्ने, आतंकबादको अन्त्य गरिनुपर्ने, धार्मिक अतिवादको अन्त्य गरिनुपर्ने, बेरोजगारी, भोकमरी एवम् गरिवीको अन्त्य गरिनुपर्ने, वैज्ञानिक भुमिसुधार र खाद्य सम्प्रभुता लागु गरिनुपर्ने, लैंगिक, जातीय एवम् सबै प्रकारका विभेदको समूल अन्त्य गरिनुपर्ने, दलित, आदिबासी, महिला, अल्पसंख्यक, बालबालिका जस्ता सिमान्तकृत समुदायका सवालहरु सम्बोधन गरिनुपर्ने, कोभिड पश्चातको अर्थतन्त्रको पुनरुत्थान गरिनुपर्ने, कोभिड लगायत सबै प्रकारका खोपहरुमा सहज र समान पहुँच स्थापित गरिनुगर्ने, दिगो विकास लक्ष्यहरु हासिल, मानवअधिकारको रक्षा र सम्बर्धन गर्दै लोकतान्त्रिक प्रणालीको सुदृढिकरण गरिनुपर्ने जस्ता विषयहरु समावेश गरिएको छ ।



