हाइग्राउन्ड जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट फ्री |
काठमाडौं । नेपालकै पहिलो र लामो जिपलाइनको सन्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको टिकट निःशुल्क पाउने भएका छन् । हालैमात्र हाइग्राउण्ड एडभेन्चर्स र अन्नपूर्ण केवलकारबीच भएको सम्झौता अनुसार जिपलाइन गर्ने पर्यटकलाई निशुल्क केवलकार टिकट उपलब्ध गराउने सहमति भएको हो ।
योसँगै अब पर्यटकले जिपलाइन बुक गरेपछि केवलकारमा चढी सराङ्कोट पुगेर जिपलाइन गरि हेम्जा झर्न सक्नेछन् । लेकसाइड पामे रोडमा रहेको सेदि बगरबाट सराङ्कोट पुग्ने केवलकारको दुरी २.१६ किलोमीटर रहेको छ भने सो दुरी पार गर्न नै मिनेट लाग्छ ।
केवलकारको टप स्टेसनबाट पाँच मिनेट हिंडे पछी सराङ्कोटको भ्यु टावर पुगिन्छ । समुन्द्री सतहबाट एक हजार छ सय मिटर उचाइमा रहेको सराङ्कोटबाट फराकिलो हिम शृङ्खला, फेवाताल, पोखरा सहरको मनमोहक दृश्य सँगै प्याराग्याइडिङको उडान नजिकैबाट नियाल्न पाइन्छ ।
बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ‘जिप फ्लायर’को फ्रेन्चाइज रहेको हाइग्राउण्डले पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यम जिपलाइनको समेत सुरुवात गरेको छ ।
जिपलाइनको टप स्टेसन सरङ्कोटबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ । यति धेरै भिरालो भएको जिपलाइन बिश्वमै अरु नभएकोले अफिसियल वल्ड रेकर्डमा ‘बिश्वकै भिरालो जिपलाइन’का रुपमा दर्ता गर्न आवेदन समेत दिइएको र सो को लागि काम भैरहेको कम्पनीले बताएको छ ।
बिश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय चालीस किमि प्रती घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ । यस जिपलाइन सन् २०१० बाट सञ्चालनमा ल्याएको हो ।


