स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय |
काठमाडौं । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थमन्त्रीको सचिवालयले प्रेस विज्ञाप्ती जारी गर्दै हल्ला मात्रै भएको जानकारी गराएको छ ।
प्रेस विज्ञाप्तीमा भनिएको छ ‘अर्थमन्त्रालय स्यानीटरी प्याड आयातमा आ.व. २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको हो, बढाइएको होइन ।’ वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्न मन्त्रालयले आग्रह गरेको छ । बरु स्यानीटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको जनाएको छ ।
‘स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पु-याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो । यसरी ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरुको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछौं । ’ विज्ञप्तीमा उल्लेख छ ।



