वैशाख १५ देखि खुला मञ्चबाट बसपार्क हट्ने |
काठमाडौं । वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हट्ने भएको छ । बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।
खुला मञ्च खाली गराई त्यहाँका संरचना हटाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ । यहाँबाट सञ्चालन हुने सार्वजनिक सवारीलाई २ वटा विकल्प दिइएको छ ।
‘टिकट काउन्टर राखेर चलेका मध्यम दूरीका गाडी गोंगबु बसपार्कबाट सञ्चालन हुनेछन् । यस्तै छोटो दूरीका सवारी ‘पिक एण्ड ड्रप’ प्रणालीबाट चल्नेछन्,’ उनले भने ।
पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सन्दर्भमा सार्वजनिक सूचना प्रकाशन गरिनेछ । यसका आधारमा निवेदक (यातायात सञ्चालक) हरुबाट प्राप्त निवेदनका आधारमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्ने उनले बताए । बसपार्क सारेर वैशाख १५ गतेभित्र महानगरले भौतिक संरचना हटाउने छ ।


