एनआईसी एशिया र स्वदेशी लघुवित्तको मर्जर, एनआईसी एशिया लघुवित्तको नामबाट एकीकृत कारोवार सुरु |
काठमाडौं । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तकाबीच गाभ्ने∕गाभिने (मर्जर) सम्बन्धी कार्य गरे पश्चात एनआईसी एशिया लघुवित्तको नामबाट एकीकृत कारोवार सुरू भएको छ ।
२०७७ श्रावण ३२ गते यी दुई संस्था बिच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई २०७७ कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।
२०७७ पुस १० गते मर्जर गर्ने सम्बन्धी अन्तिम सम्झौता भई सो सम्झौता अनुसार मर्जर गर्नेका लागि दुबै संस्थाको माघ ४ गते छुट्टाछुट्टै बार्षिक साधारण सभाबाट सम्पन्न गरिएको थियो । उक्त बार्षिक साधारणबाट पारित विशेष प्रस्ताव बमोजिम एक आपसमा गाभ्ने÷गाभिने कार्य गर्न अन्तिम स्वीकृती प्राप्त भए अनुसार एनआईसी एशिया लघुवित्तको नामबाट एकीकृत कारोबारको सुरूवात एनआईसी एशिया लघुवित्तका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तका अध्यक्ष लालमणि जोेशीले संयुक्त रुपमा गरेका छन्।
कर्णाली प्रदेशको जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्तको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १५० शाखा संचालनमा रहेको छ । प्रदेश १ स्थित सुनसरीको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्तको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् ।


