बैशाखदेखि तामाकोशीबाट बिजुली उत्पादन गर्ने तयारी, परिक्षणका लागि बाँधमा पानी जमाउन थालियो |
काठमाडौं । बहुप्रतिक्षित माथिल्लो तामाकोशी आयोजनाबाट बैशाख १ गतेदेखि बिजुली उत्पादन गर्ने तयारी थालिएको छ । नयाँ वर्ष २०७८ को पहिलो दिन अर्थात बैशाख १ गतेबाट बिजुली उत्पादनका लागि तामाकोशी आयोजनाको बाँधमा पानी जमाउने काम आइतबार देखि थालिएको हो ।
मुलुककै अहिलेसम्मकै ठूलो माथिल्लो तामाकोशी आयोजनाले आज एक सूचना जारी गर्दै चैत ८ गतेदेखि १६ गतेसम्म बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट स्टपलगायत हेडवक्र्सको परिक्षण गर्न लागेको जनाएको छ ।
आयोजनाको परिक्षण गर्न लागिएकोले बाँधमा पानी जम्मा गर्ने र पठाउने काम भइरहेको हुँदा आसपास मानवीय कार्य जस्तै पौडी खेल्ने, लुगा धुने, माछा मार्ने, वस्तुभाउ लैजाने कार्य बन्द गर्न आग्रह गरेको छ ।
४५६ मेगावाट क्षमताको आयोजनाबाट सुरुमा एउटा युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिएको माथिल्लो तामाकोशी आयोजनाका अध्यक्ष समेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
‘तामाकोशीबाट बैशाख १ गतेदेखि एउटा युनिटबाट भएपनि बिजुली निकाल्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘पहिलो चरणमा एक युनिटबाट ७६ मेगावाट बिजुली निकाल्ने र त्यसपछि अन्य युनिटबाट पनि बिजुली निकाल्दै जाने योजना बनाएका छौं ।’
यता, आयोजनाबाट बिजुली उत्पादनको मिति नजिकिदै जादा बजारमा पनि तामाकोशीको शेयर मूल्य आकासिएको छ । आज माथिल्लो तामाकोशी आयोजनाको शेयर मूल्य ६६० सम्ममा किनबेच हुन पुग्यो ।
आयोजनाले केही महिना भित्रै आयोजनका ६ वटै युनिटबाट बिजुली उत्पादन गर्ने अन्तिम तयारी गरेको छ ।
एक वर्षअघिदेखि नै बिजुली उत्पादन हुन थाल्ने बताइएपनि बल्लतल्ल अब बिजुली उत्पादन हुने भएको छ । बिजुली उत्पादन गर्न थप समय लागेसँगै माथिल्लो तामाकोशी आयोजनाको लागत बढ्दै गएको छ ।
गत वर्षको पुसबाट पहिलो युनिटबाट बिजुली निकाल्ने भनिएको थियो । त्यो पनि सम्भव भएन् । त्यसपछि यही गत असार अन्त्यसम्ममा तामाकोशीको पहिलो युनिटबाट बिजुली निकाल्ने भनियो त्यो पनि सम्भव भएन् । त्यसपछि पुनः दसैंसम्ममा पहिलो युनिटबाट बिजुली उत्पादन गर्ने भनिएको थियो । तर त्यो समय भित्र पनि बिजुली आएन् ।
अहिले नयाँ वर्षसम्ममा माथिल्लो तामाकोशी आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । तर, त्यो समयसम्म पनि आयोजना सम्पन्न हुने हो कि होइन भन्ने निश्चित भने अझै देखिएको छैन् ।
सुरुमा ३५ अर्ब लाग्ने भनिएको उक्त आयोजनाको लागत निर्माण सम्पन्न हुने समयसम्म दोब्बरभन्दा बढीले बढने भएको छ । आयोजना निर्माणमा भएको ढिलाइका कारण आयोजनाले वार्षिक १० अर्ब आम्दानी समेत गुमाउदै आएको छ ।
सबैभन्दा अप्ठयारो काम सकिएकाले आयोजनाबाट बिजुली निकाल्न धेरै लामो समयसम्म कुर्नु पर्ने अवस्था नभएको शाक्यको भनाइ छ । २०७२ सालमा आएको भूकम्प, कोरोना भाइरसलगायतका कारणले आयोजनाको काम प्रभावित हुँदै आएको छ ।
निर्धारित समयमा आयोजना निर्माण नभएपछि आयोजनाको लागत बढदै गएको छ । अहिले नै आयोजनाको लागत ७० अर्ब पुगिसकेको छ । सुरुको ३५ अर्बको लागत बढेर ७० अर्ब पुगेको आयोजनाका कर्मचारीहरु बताउँछन् । आयोजना निर्माण सम्पन्न हुने बेलासम्म त्यो भन्दा पनि बढी लाग्ने अनुमान गरिदै छ ।
आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २ र २ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैया नेपाल सरकारले ऋण लगानी गरेका छन् । उनीहरुले प्रवाह गरेको ऋणको ब्याजदर ११ प्रतिशतभन्दा बढी छ ।
कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २∕२ प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा सर्वसाधारणको १५ प्रतिशत, दोलखाबासीको १० प्रतिशत, संचय कोषका संचयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर छ ।
स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन उक्त आयोजनाले मुलुकको अर्थतन्त्रमै गुणात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।


