हाम्रा सबै आर्थिक योजना असफल भए ː किम जोङ |
उत्तर कोरियाली नेता किम जोङ उनले लगभग सबै क्षेत्रबाट आफ्नो राष्ट्रको आर्थिक विकास गर्ने योजना असफल भएको स्वीकारेका छन् ।
मंगलबार भएको सत्तारूढ दल वर्कर्स पार्टीको सम्मेलनमा उनले आर्थिक योजनाहरू असफल रहेको स्वीकारेको उत्तर कोरियाली सञ्चारमाध्यमले नै जनाएका छन् ।
किमले पछिल्ला पाँच वर्षलाई राष्ट्रका लागि ’खराब मध्येकै खराब’ भएको बताएका हुन् ।
’अहिलेका बहुचुनौतीहरूसँग जुध्ने बलियो र छिटो माध्यम भनेको हाम्रो शक्ति र हाम्रो आफ्नै आत्मनिर्भर क्षमतालाई सम्भव बनाउनु हो,’ किमले भनेका थिए ।
कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)का अनुसार उक्त भेला पोङयाङमा मंगलबार भएको थियो ।
सो भेलाको सार्वजनिक भएका तस्वीरहरूमा ७ हजार जना सहभागी भएको देखिएको थियो । हलहरू भरिएको देखिन्थ्यो भने कसैले पनि मास्क लगाएका थिएनन् ।
भेलाको पहिलो दिनमा कामको समीक्षा गर्दै पछिल्लो पाँच वर्षको आर्थिक विकास योजना नराम्रोसँग असफल भएको बताएका थिए ।
’हामीले हाम्रो अनुभव, सिकाइ र त्रुटीहरूलाई गहिराइमा विस्तृत विश्लेषण गर्ने सोचेका थियौं,’उनले भने ।
केसिएनएका अनुसार सम्मेलन बुधबार पनि जारी हुने छ । कोरोना भाइरससँग बच्न उत्तर कोरियाले गत जनवरीमा चीनसँगका सीमाहरू बन्द गरेको थियो । चीनसँगको सीमा बन्द गरेपछि व्यापार घटेको हो ।
किमले पार्टी कार्यकर्ताको भने प्रशंसा गरेका थिए। महामारीविरूद्ध सुरूदेखि अन्त्यसम्म स्थिर अवस्था बनाउन सकेकोमा उनले प्रशंसा गरेका हुन् ।
किमले उत्तर कोरियामा एक जनामा पनि कोरोना संक्रमित नभेटिएको दाबी गर्दै आएको छ । तर सो दाबीलाई प्रायःले शंका गर्दै आएको छ ।
उत्तर कोरियाको अर्थतन्त्रमा कोरोना महामारीसँगै मनसुनमा आएको पहिरोले पनि असर पारेको अल्जजिराले जनाएको छ ।
Visited 1 times, 1 visit(s) today


