खाद्यले तोक्यो खसीबोकाको मूल्य प्रतिकेजी ५६० रुपैयाँ, आजदेखि बिक्री वितरण |
काठमाडौं । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज सोमबारदेखि सहुलियत मूल्यमा खसी–बोका बिक्री गर्ने भएको छ ।
कम्पनी लिमिटेडले प्रतिकिलो ५६० रुपैयाँमा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको हो । दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि पहिलो चोटि खसी तथा बोका काठमाडौँ आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो ।
५६० रुपैयाँ तोकिएको निर्धारित मूल्यमा प्रतिकिलो खसीबोकामा दश रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।
उनका अनुसार काठमाडौँ आइपुगेका चौपायाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण शुरु हुनेछ । प्रतिकिलो ५५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा प्रतिकिलो दश रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुुसार पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २०५ गरी ४०५ खसीबोका काठमाडौँ आइपुगेको छ । यस वर्ष कम्पनीले दुई जिल्लाबाट एक हजार खसीबोका ल्याउने तयारी गरेको छ ।
मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य भएपछि अन्तिममा नल्याउने निर्णय भएको जनाइएको छ ।


