नेपाली बजारमा आयो किबीको वाइन |
काठमाडौं । फलफूलको ‘राजा’ मानिने किबी फलबाट बनेको वाइन बजारमा आएको छ । धनकुटाको राजारानीमा उत्पादित वाइन फ्याक्ट्रीले आफ्नो पहिलो उत्पादन काठमाडौंमा बिक्री सुरू गरेको हो ।
पोषिलो फलको रूपमा रहेको किबीको व्यावसायिक खेती पूर्वी नेपालमा सुरू भएसँगै वाइन उत्पादन सुरू गरी बजारमा ल्याइएको उत्पादकले जनाएका छन् ।
पहिलो पटक काठमाडौंमा पूर्वी पहाडी जिल्लामा उत्पादन भएको फलको वाइन चखाउन बिक्री सुरू गरेको माउण्ट एभरेष्ट वाइनरीका प्रबन्ध निर्देशक विष्णु बाँस्तोलाले बताए ।
‘प्रिन्सेस नामक वाइन बजार ल्याएका छौं,’ उनेले भने । अनुकूल हावापानीका कारण नेपालको पहाडी क्षेत्रमा किबीको व्यावसायिक खेती गर्न सकिने भन्दै किसानहरूलाई लक्षित गरेर करिब २० करोडको लागतमा वाइन उत्पादन भएको उनले बताए ।
लगत्तै केही दिनभित्रै पूर्वी नेपालको सहरहरुमा बिक्री सुरू गर्ने बाँस्तोलाले बताए ।
‘प्रिन्सेस वाइनले वाइन पारखी उपभोक्ताको मन जित्न सफल हुनेमा हामी विश्वस्त छौं,’ उनले भने । उद्योगले रेड र ह्वाइट वाइन उत्पादन गरिरहेको छ । उद्योगमा करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पाइरहेको बाँस्तोला बताउँछन् । ‘उद्योग आफैंले पनि किबी खेतीमा लगानी गरेको छ,’ उनले भने ।
वाइनरी क्षेत्रमा संगालेको लामो अनुभव र देशविदेशका तालिमबाट प्राप्त गरेको विज्ञताका कारण आफूहरू उद्योगबाट उत्कृष्ट क्वालिटीको वाइन उत्पादन गर्न सफल हुने बाँस्तोला बताउँछन् । साढे दुई दसकको इतिहास रहेको स्वदेशी वाइन उद्योगको बजार विस्तार हुँदै जाँदा उद्योगहरूको संख्या करिब दुई दर्जन पुगेको छ ।
उच्च वर्गमा सीमित वाइन पछिल्लो एक दसकदेखि नेपाली बजार सुहाउँदो उत्पादन, मूल्यका कारण मध्यम र निम्नमध्यम वर्गमा प्रिय बनिरहेको छ । ‘आफ्नै देशको किसानको उत्पादन खेर जान नदिन हामीले पहिलोपटक किबीको वाइन बजारमा ल्याएका हौं,’ कम्पनीका अध्यक्ष हरेराम साह भन्छन्, ‘हामी बजारलाई नयाँ स्वाद चखाउन चाहान्छौं ।’
नेपालमा हावापानी अनुसार चैत-वैशाखमा किबी फूल फुल्छ र कात्तिक, मंसिरमा फल टिप्न तयार हुन्छ । संसारमा पाइने २७ फलमध्ये सबैभन्दा पोषिलो फलको रूपमा किबीलाई लिने गरिएको छ ।
काँचो खाँदा अमिलो हुने किबीमा भिटामिन तथा खनिज पदार्थ प्रशस्त पाइन्छ । किवीमा औषधीजन्य गुण पनि पाइन्छ ।
पेट सम्बन्धी रोग, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोल, मधुमेहजस्ता रोगका लागि उपयोगी मानिन्छ। किबी फलबाट जुस, जाम, वाइन लगायत विभिन्न परिकार बनाउन सकिन्छ ।
किबी स्वास्थ्यका लागि पनि गुणकारी फल मानिन्छ। किबीबाट भिटामिन, खनिज र औषधीजन्य तत्व प्राप्त गर्न सकिन्छ । जसले पेटको विभिन्न समस्याबाट बचाउनुका साथै मधुमेह, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोललार्य सन्तुलनमा राख्ने काम गर्छ ।


