३ वर्षे बालिका चंगामा अल्झेर आकासमा उडिन् (भिडिओ) |
आइतबार ताइवानको राजधानी ताइपेइको दक्षिणमा अवस्थित स्हिन्चु सहरमा अन्तर्राष्ट्रिय चंगा महोत्सवमा आयोजना गरिरएको थियो ।
मान्छेहरू साना–ठूला चंगा उडाउँदै, हेर्दै मजा लिइरहेका थिए। यही क्रममा आयोजकहरूले विशेष प्रकारको सुन्तले रङको ठूलो चंगा हावामा छाडिदिए । सबै उक्त चंगा उडेको हेर्न उत्साहित देखिन्थे ।
तर त्यहाँ अचानक त्यो मजा भंग हुनेगरी डरलाग्दो दृश्य देखियो ।
त्यो ठूलो चंगा उड्दाउड्दै पुच्छरमा एक ३ वर्षे बालिका पनि अल्झिन् । चंगा हावाको वेगसँगै बत्तिन थाल्यो । चंगासँगै बालिका माथि आकाशमा हुत्तिइन् । मान्छेहरू आत्तिएर कराउन थाले ।
बालिकाको घाँटीमा बेरिएको चंगाले उनलाई करिब ३० सेकेन्डसम्म नराम्ररी बत्तायो ।
तत्कालै आयोजकहरूले चंगा तल ताने र हावामा हुत्तिरहेकी बालिकालाई त्यहाँ भएका मान्छेहरूले समाते ।
बालिकालाई तत्कालै उनकी आमाका साथमा अस्पताल लगियो । तर भाग्यवश् उनको घाँटी र अनुहार तछारिनुबाहके गम्भीर चोटपटक नलागेको ताइवानको सरकारी समाचार संस्थाले जनाएको छ ।
सिएनएनका अनुसार अहिले उनी अस्पतालबाट डिस्चार्ज भएर घर गइसकेकी छन् ।
यो घटनाको भिडिओ अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । ती बालिका कसरी त्यो चंगामा अल्झिइन् भन्नेबारे प्रस्ट छैन । तर द न्यूयोर्क टाइम्सका अनुसार यसमा आफूहरूकै गल्ती भएको बालिकाको परिवारले बताएको छ ।
महोत्सवका दिन हावाको वेग एकदमै धेरै भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तै, बालिका ठूलो दुर्घटनाबाट बचिन् ।
महोत्सव आयोजकले फेसबुकमार्फत् विज्ञप्ति जारी गरेर यो घटना दुखद भएको भन्दै माफी मागेका छन् ।
’आगामी दिनमा यस्ता दुर्घटना हुन नदिने प्रयास हामी गर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
साथै सहरका मेयरले पनि यो घटना हुन गएकोमा माफी माग्दै दुई दिने यो महोत्सव स्थगित गरेका छन् ।
त्यस्तै बालिकालाई जुन खाले चंगाले उडाएको हो, यस्ता चंगा मान्छेहरूको घुइँचो हुने कुनै महोत्सवमा नउडाउने निर्देशन दिइएको पनि द न्यूयोर्क टाइम्सले लेखेको छ।
भिडिओ ː द न्यूयोर्क टाइम्स
Visited 1 times, 1 visit(s) today


