एनएमबि बैंकको वितरण योग्य मुनाफा १२ प्रतिशत बढ्यो |
काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ ।
बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २७ करोड खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.५९ प्रतिशत मात्र बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको नाफा सामान्य मात्र बढेपनि वितरण योग्य मुनाफा भने ११.९३ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा एक अर्ब ४२ करोड छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।
खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफा बढेको हो । बैंकले चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब २८ करोड रुपैयाँ बढी हो । बैंकको सञ्चालन नाफा भने २५ प्रतिशत घटेर २ अर्ब ४३ करोडमा सीमित भएको छ ।
चौथो त्रैमासको अन्त्यसम्ममा बैंकले १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको अन्त्यसम्ममा बैंकले ९७ अर्ब ८९ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकको निक्षेप ३४.५० प्रतिशत र कर्जा ३०.७६ प्रतिशत बढेको हो ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेको छ । अघिल्लो आवको असार मसान्तमा ०.८२ प्रतिशत रहेको खराब कर्जा बढेर गत आवको अन्त्यसम्ममा २.६८ प्रतिशतमा पुगेको छ । बैंकको ईम्पेरिमेन्ट चार्ज एक अर्ब ६१ करोड रुपैयाँ छ ।
१३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ भने शेयरधनी कोषमा ९६ करोड ४० लाख रुपैयाँ छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५७ पैसा रहेको छ। त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात २३.२७ गुणा रहेको छ । बैंकको कोषको लागत ७.२६ प्रतिशतबाट ६.९९ प्रतिशतमा, आधार दर ९.८६ प्रतिशतबाट ८.९५ प्रतिशतमा झरेको छ । असार मसान्तसम्ममा बैंकको सिडि रेशिया ७२.६८ प्रतिशत तथा स्प्रेडदर ४.०५ प्रतिशत छ ।


