लेबनान विस्फोटमा मृत्यु हुनेको संख्या १०० नाघ्यो, ४ हजार बढी घाइते |
मंगलबार लेबनानको राजधानी बेरूतमा भएको भयानक विष्फोटमा हालसम्म १०० जना मारिएका छन् । अत्यधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा विस्फोट हुँदा करिब ४ हजार बढी मानिस घाइते भएको बिबिसीले जनाएको छ ।
विस्फोटबाट नजिकका भवनहरूको सिसा फुट्नुका साथै भवनहरू ध्वस्त भएका समाचारमा जनाइएको छ ।
लेबनानी सरकारी अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने जनाएका छन् । लेबनानका राष्ट्रपति मिचेल अउनले सो गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा(सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको बताउँदै सो लापरवाही अस्वीकार्य भएको बताएका छन् ।
घटनालाई लिएर उनले बुधबार मन्त्रिपरिषदको आपतकालीन बैठक डाकेका छन् । उनले दुई साता देशमा आपतकाल घोषणा गर्नुपर्ने बताएका छन् ।
’हामीले जे देख्यौं त्यो एकदमै ठूलो विनाश हो,’ लेबनान रेडक्रसका प्रमुख जर्ज केटानीले मायादिन नामको टेलिभिजनसँग भने, ’त्यहाँ जताततै पीडित र घाइते छन् ।’
त्यसैगरी लेबनानका प्रधानमन्त्री हसन डायबले देशसमक्ष घटनामा जिम्मेवारलाई कठघरामा उभ्याइने बताएका छन् । ’यसमा जिम्मेवारहरूले यसको मूल्य तिर्नुपर्नेछ,’ राष्ट्रलाई टेलिभिजनमार्फत गरेको सम्बोधनमा उनले भने ।
उनले घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



