भदौ १ देखि अन्तर्राष्ट्रिय उडान शुरु हुँदै, १२ एयरलाइन्स कम्पनीको आवेदन |
काठमाडौं । सरकारले भदौ १ देखि हवाइ उडान खुला गर्ने निर्णय गरेपछि सिमित एयरलाइन्सले मात्र उडान शुरु गर्ने इच्छा देखाएका छन् । उडान शुरु गर्ने निर्णयपछि तोकिएको प्रोटोकल पूरा गरी उडान गर्न इच्छुक एयरलाइन्सलाई सम्पर्क गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेपछि अहिलेसम्म १२ एयरलाइन्सले आवेदन दिएका छन् ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार १८ गन्तव्यमा उडान गर्नका लागि १२ एयरलाइन्सले अहिलेसम्म जानकारी गराएका छन् ।
यसमा टर्किस एयरलाइन्सले इस्तानबुलबाट काठमाडौं हप्तामा १ उडान, सलाम एयरले ओमनको मस्कटबाट काठमाडौं हप्तामा ७ उडान, भारतको इन्डिगोले नयाँ दिल्लीबाट काठमाडौं हप्तामा ७ उडान, चाइना साउदर्नले ग्वाङजाउबाट काठमाडौं हप्तामा १ उडान,एयर चाइनाले छेन्दुबाट काठमाडौं हप्तामा १ उडान, जजिरा एयरवेजले कुवेतबाट हप्तामा २ उडान, फ्लाइदुबइले दुबईबाट हप्तामा ७ उडान हिमालय एयरलाइन्सले छोङचिङमा हप्तामा १, दोहामा ५, आबुदाबीमा ४, सारजाहमा ७ र क्वालालम्पुरमा ४ उडान गर्ने जानकारी प्राधिकरणलाई गराएको छ ।
त्यस्तै नेपाल एयरलाइन्सले नयाँ दिल्ली हप्तामा १४, बैंग्लोर ३, मुम्बइ ७, ग्वाङजाउ ३, दुबइ ७, दोहा ७ क्वालालम्पुर ७, नारिता ३, बैंकक ३ र हङकङमा ३ उडान गर्ने जानकारी गराएको छ ।
मलेसियन एयरलाइन्सले क्वालालम्पुरबाट हप्तामा ५ र मालिन्दो एयरले १४ उडान गर्ने योजना प्राधिकरणमा पेश गरेको छ। त्यस्तै एयर अरेबियाले आबुदाबीबाट हप्तामा ७ र सारजाहबाट २८ उडान गर्ने जानकारी गराएको छ।
Visited 1 times, 1 visit(s) today


