पारदर्शिता र जवाफदेहिता सुनिश्चित हुने गरी काम गरौँ ː अर्थमन्त्री |
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले अन्य नियमनकारी निकायसँगको समन्वयमा नेपालमा लगानी र व्यवसायीको पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित हुने गरी काम गर्नुपर्ने बताएका छन् ।
आइक्यानको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ कार्यक्रममा मन्त्री खतिवडाले सदस्यतामा आधारित संगठन संरचना भएको नियमनकारी निकायलाई थप व्यवस्थित र पारदर्शी बनाउन कानुन मस्यौदाको प्रक्रियामा अघि बढ्न आग्रह गरे ।
खतिवडाले निस्पक्ष छानबिन गर्ने, दोहोरो भूमिका नभइ काम गर्ने सक्ने वातावरण निर्माण गर्ने र लेखाका सिद्धान्त विपरीत काम गर्नेलाई कारबाही गर्ने गरी आइक्यान अघि बढ्नुपर्ने सुझाव दिए । ’सिद्धान्त विपरीत काम गर्नेमाथि कारबाही गर्ने बेलामा दण्डहीनताको अवस्था आउनु हुँदैन,’ खतिवडाले भने ।
नियमनकारी निकायले इमानदारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो। ’विश्वसनीय लेखाप्रणाली बनाउन आइक्यानको भूमिका रहन्छ,’ उनले भने, ’नियमानकारी निकायमा बस्नेले स्वार्थ नबाझिने गरी काम गर्नुपर्छ ।’ खतिवडाले जनशक्ति विकासमा पनि आइक्यानको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।
महालेखापरीक्षक टंकमणि शर्मा दंगालले नेपाल सरकार र महालेखापरीक्षकको कार्यालयसँग अत्यन्त राम्रो सम्बन्ध राखेर अघि बढ्न आइक्यानलाई सुझाव दिएका छन् । अबको समयमा धेरै काम भर्चुअल र अनलाइन प्रणालीबाट हुने भएकाले त्यसतर्फ सचेत हुन उनले सुझाव दिए ।
आइक्यानका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले आफ्नो नेतृत्वको कार्यकालमा सुधारका धेरै काम अघि बढेको जानकारी दिए । उनले आफ्नो प्रत्येक बैठकमा संस्था सुधारका लागि धेरै प्रयास र पहल भएको उल्लेख गरे े। उनले आइक्यानको नियमनकारी भूमिका अझै बलियो बनाउँदै लगिएको बताए ।
’नियमनकारी भूमिकालाई अझै पारदर्शीरूपमा अघि बढाउने गरी अघि बढ्न खोजेका छौँ, यो सबै विना संस्थागत विकास विना संभव थिएन,’ उनले भने, ’संस्थागत सुधार र नियमनकारी भूमिका बढाउन अध्ययन गरेका छौँ, आइक्यानलाई वास्तवमै सेन्टर फर एक्सिलेन्स बनाउनका लागि हामीले महत्वपूर्ण काम अघि बढाएका छौँ।’
आइक्यानका नवनिवर्चित अध्यक्ष मदनकृष्ण शर्माले यसअघि शुरु भएका संस्थागत सुधारका कामलाई निरन्तरता दिइ अघि बढ्ने उनले प्रतिवद्धता जनाएका छन् । लेखाविधिका मूल सिद्धान्तलाई केन्द्रमा राखेर काम अघि बढाइने उनले बताए । ’हाल प्रगतिमा रहेका कार्यकालाई निरन्तरता दिँदै अघि बढ्नेछौँ,’ उनले भने, ’लेखापरीक्षण व्यवसायलाई व्यवस्थित बनाउन अडिट फर्मको मापदण्ड तोक्ने र लेखापरीक्षण शुल्क निर्धारण गर्नुपर्ने आवश्यकता देखिएको छ ।’
आइक्यानले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने कम्पनी तथा संघ संस्थाहरूलाई पुरस्कृत गरेको छ। कार्यक्रममा आइक्यानका नवनिर्वाचित अध्यक्ष मदनकृष्ण शर्मा र उपाध्यक्ष युद्धराज ओलीको सपथ ग्रहण गराइएको थियो ।
राष्ट्रिय उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार
संस्थाले अध्यक्ष तथा उपाध्यक्षको सपथग्रहण कार्यक्रमको अवसर पारेर विभिन्न संस्थाहरुले तयार पारेका वित्तीय विवरणको स्वतन्त्र मुल्याङ्कनको आधारमा उत्कृष्ट छनौट भएका विभिन्न संघ संस्थाह?लाई विगत बर्षहरुझै राष्ट्रिय उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार प्रदान गरी सम्मान गरेको थियो । सम्मानित हुने संस्थाहरुका बैंकिङ्क क्षेत्र अन्तर्गत स्टान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेड, वित्तीय क्षेत्र अन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेड रहेको थियो ।
त्यस्तै साधारण क्षेत्र मेनुफेक्चरिङ्ग अन्तर्गत चिलिमे हाईड्रो पावर लिमिटेडले प्रथम स्थान प्राप्त गरेको थियो भने बोट्लर्स नेपाल लिमिटेडले दोस्रो स्थान प्राप्त गरेको थियो । त्यसैगरी साधारण क्षेत्र अन्य अन्तर्गत Nepal Clearing House LimitedNepal Clearing House Limited ले प्रथम स्थान प्राप्त गरेको थियो भने कर्जा सूचना केन्द्रले दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो । विजेता तथा उप–विजेतालाई माननीय महालेखा परीक्षक टंकमणि शर्मा दंगालले पुरस्कार वितरण गरेका थिए ।


