कोरोनाबाट मर्नेको संख्या ४ लाख नाघ्यो, ७० लाख मानिस संक्रमित |
कोरोना भाइरसका कारण विश्वमा ज्यान गुमाउनेको संख्या आइतबार ४ लाख नाघेको रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार पछिल्लो समय ल्याटिन अमेरिकी देश ब्राजिल र दक्षिण एसियाली मुलुक भारतमा कोरोनाको संक्रमण धेरै बढिरहेको छ ।
कोरोनाका एक चौथाई मृतक अमेरिकाबाट हुन भने ब्राजिलमा मृतकको संख्या तीव्र गतिमा बढ्न थालेको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
पाँच महिनामा कोरोनाका कारण भएका मृत्युले एक वर्षमा मलेरियाबाट हुने वार्षिक मृत्यु संख्यासँग बराबर गरेको छ ।
पछिल्लो विश्व विवरणका अनुसार हालसम्म संसारका ७० लाख मानिसलाई कोरोनाको संक्रमण भएको छ । संक्रमितमध्ये २० लाख संक्रमित अमेरिकाका हुन् ।
यो विश्वको कुल संक्रमित संख्याको ३० प्रतिशत हुन आउँछ । यसैगरी ल्याटिन अमेरिकामा यो संख्या १५ प्रतिशत रहेको रोयटर्सको तथ्यांकले जनाएको छ ।
कोरोनाबाट पहिलो मृत्यु चीनको वुहानमा जनवरी १० मा रेकर्ड भएको थियो ।
पछिल्लो तथ्यांकले १ लाख मानिसले पछिल्लो संख्या २४ दिनमा ज्यान गुमाएको देखाएको छ, जबकी महामारी शुरु भएपछि अप्रिलको सुरूमा मात्र पहिलोपटक मृतक संख्या १ लाख पुगेको थियो ।
हाल कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ । त्यहाँ हालसम्म करिब १ लाख १० जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय ब्राजिलमा मृतकको संख्या बढ्दै गएको छ ।
यस्तै कोरोनाबाट दोश्रो धेरै मृत्यु बेलायतमा भएको छ । रोयटर्समा प्रकाशित समाचारका अनुसार आधिकारिक रूपमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख भएपनि वास्तविक संख्या योभन्दा धेरै हुनसक्ने अनुमान गरिदैं आइएको छ ।
संसारका थुप्रै देशमा परीक्षण कम हुनु र अस्पतालबाहिर भएका मृत्युलाई तथ्यांकमा समावेश नगरिएकाले कोरोनाका कारण हुने मृत्यु भनिएभन्दा धेरै हुनसक्ने अनुमान गरिएको हो।
Visited 1 times, 1 visit(s) today


