लकडाउनको मोडालिटीमै अलमल, मंगलवार फेरि बैठक बस्ने |
काठमाडौं । लकडाउनको स्वरुप परिवर्तनको निर्णय गर्न बसेको उच्चस्तरीय समिति बैठक आईतबार पनि निर्णयमा पुग्न सकेन । प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा आइतबार अबेर रातीसम्म बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समतिको बैठकले लकडाउन खुकुलो बनाउने कार्ययोजना सहितको मस्यौंदा टुङ्ग्याउन नसकेको हो ।
विगत केही दिनदेखि निजी क्षेत्र, व्यवसायी, अर्थविज्ञ लगायत विभिन्न निकायका प्रतिनिधि र पदाधिकारीसँगको छलफलपछि तयार पारेको मस्यौंदामा अन्तिम सहमति जुटाउन बैठक बसेको बताइए पनि बैठकले ठोस निर्णय गर्न सकेन । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कार्ययोजनाको मस्यौंदामाथि छलफल भएको र प्राप्त थप सुझावलाई समावेश गरी मस्यौंदा परिमार्जन गरी पुनː अर्को बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिए । कोरोना संक्रमणको अवस्थाबारे थप विश्लेषण गरेर मंगलवार फेरि छलफल गर्ने सहमति भएको एक मन्त्रीले जानकारी दिए ।
उनले भने, ‘तयार भइरहेको कार्ययोजनाको मस्यौंदामा आजपनि घनिभूत छलफल भयो । कार्य, सेवा र विषयवस्तुका हिसाबले अझै परिमार्जन गरेर अन्तिम तयारीमा लैजाने गरि आजको बैठक सम्पन्न भएको छ । यो कार्य जारी छ । प्रधानमन्त्री र उपप्रधानमन्त्री सहित सम्पूर्ण टिम आजको यो विशेष बैठकमा सहभागी भएको थियो । विभिन्न चरणबाट सुझावहरु र निर्देशन प्राप्त भएका छन् । यसलाई उच्चस्तरीय समन्वय समितिले ग्रहण गरेको छ र यसलाई फेरि मौजुदा प्रस्ताव उपर परिमार्जन गरेर समृद्ध गरी पुनː पेश गर्ने गरि बैठक सम्पन्न भएको छ ।’
Visited 1 times, 1 visit(s) today


