४७.१ मेगावाटको गुरास हाइड्रो आयोजना ५० प्रतिशतभन्दा बढी सम्पन्न
काठमाडौं । संखुवासभा र भोजपुर जिल्लाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुरास हाइड्रो लिमिटेड आयोजनाको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । सङ्खुवा खोलाको पानी उपयोग गरी निर्माण भइरहेको आयोजनाले विद्युत् उत्पादनसँगै स्थानीय रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्याउँदै आएको छ ।
आयोजनाको प्रस्तावित लागत ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । आयोजनाको हेडवर्क्स संखुवासभाको साल्पासिलिचोङ गाउँपालिका वडा नं. १, २ र ३ अन्तर्गत बुधबारे क्षेत्रमा निर्माण भइरहेको छ । सङ्खुवा खोला र सिसुवा खोलाको संगमस्थलमा बाँध निर्माण गरी करिब ६ हजार ४०० मिटर लामो सुरुङमार्फत पानी विद्युत् गृहमा पुर्याउने संरचना तयार पारिँदै छ ।
त्यस्तै, विद्युत् गृह भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा नं. १ र २ अन्तर्गत बेखुवा क्षेत्रमा निर्माण भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युत् अरुण नदीमा छोड्ने गरी संरचना निर्माण गरिएको छ ।
४२२ प्रभावित परिवारलाई संस्थापक शेयर
आयोजनाबाट प्रभावित क्षेत्रका ४२२ परिवारलाई न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको संस्थापक शेयर प्रदान गरिएको छ ।
गुरास हाइड्रो लिमिटेडका कार्यकारी अध्यक्ष शिवप्रसाद घिमिरेले आज आयोजित एक समारोहबीच प्रभावित परिवारलाई शेयरसम्बन्धी प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
शेयर हस्तान्तरण कार्यक्रममा अध्यक्ष घिमिरेले आयोजना स्थानीय क्षेत्रका साथै समग्र देशको ऊर्जा विकासका लागि महत्वपूर्ण रहेको बताए । उनले आयोजना निर्माणमा प्रभावित क्षेत्रका बासिन्दा, स्थानीय समुदाय तथा सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको सहयोग र सहकार्यले निर्माण कार्य अघि बढाउन सहज भएको बताए ।
निर्माणमा करिब ७०० जनाको संलग्नता
आयोजना निर्माण कार्यमा हाल प्राविधिक, निर्माण कर्मचारी, सुरक्षा निकाय तथा नेपाल प्रहरी र नेपाली सेनासहित करिब ७०० जना संलग्न रहेको जनाइएको छ । आयोजनाको निर्माणले स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै आर्थिक गतिविधि विस्तारमा समेत टेवा पुर्याएको छ ।
५० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले आगामी दिनमा निर्माणलाई थप तीव्रता दिँदै विद्युत् उत्पादनको लक्ष्य हासिल गर्ने दिशामा काम अघि बढाइरहेको छ ।
आयोजना सञ्चालनमा आएपछि संखुवासभा र भोजपुर जिल्लाको ऊर्जा विकास, स्थानीय अर्थतन्त्र तथा राष्ट्रिय विद्युत् उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।




