अबदेखि फेसबुक, गुगलजस्ता सञ्जालमा विज्ञापन गर्न नपाइने |
काठमाडौं । फेसबुक, ट्वीटर र युट्युवजस्ता सामाजिक सञ्जालमा गरिने विज्ञापन गैरकानुनी भएको भन्दै कसैले गरेमा राष्ट्र बैंकले कारबाही गर्ने भएको छ ।
पछिल्लो समय कतिपय बैंक तथा वित्तीय संस्था, कर्पोरेट संस्था, होटल रेष्टुरेन्ट तथा अन्य ब्यवसायिक संघसंस्थाहरुले सामाजिक सञ्जालमार्फत विज्ञापन गर्दै आएका थिए । यसरी गरिने विज्ञापनका लागि राष्ट्र बैंकले विदेशी मुद्रा सटही गर्दैन ।
तैपनि निरन्तर विज्ञापन भइरहेको थियो । राष्ट्र बैंकले सटही सुविधा नदिइ विदेशी संस्थालाई भुक्तानी गर्नु गैरकानुनी हो । त्यसैले यस्तो विज्ञापन गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको हो ।
इन्टरनेटमार्फत गरिने विज्ञापनवापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने काम गैरकानुनी भएको राष्ट्र बैंकले प्रष्ट्याएको छ ।
’यस्तो कारोबारबाट विदेशी मुद्रा अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय नियमित गर्ने ऐन र प्रचलित कानुन बमोजिम कारवाही हुने छ,’ राष्ट्र बैंकले भनेको छ ।
कर्पोरेट संस्था, बैंक तथा वित्तीय संस्था र अन्य निकायले आँफैले बाहिरबाट वा नेपालमै रहेका विज्ञापन एजेन्सीमार्फत सामाजिक सञ्जालमा महँगो शुल्क तिरेर विज्ञापन गर्दै आएका थिए। विज्ञापन एजेन्सीहरुले विज्ञापनदातासँग मूल्य अभिबृद्धि करसमेत जोडेर पैसा लिने र आफूले भने बाहिरबाट नेपाल आउने पैसा उतै रोकेर विज्ञापन गरिदिँदै आएका थिए ।
चालु वर्षको मौद्रिक नीतिले यसरी विज्ञापन गर्न नपाइने ब्यवस्थालाई कडाइ गरिने जनाए पनि केही पनि निर्णय गर्न सकेको थिएन । शुक्रबार भने सुचना जारी गर्दै राष्ट्र बैंकले यसरी विज्ञापन गरेमा मुद्रा अपचलन अभियोगमा कारवाही गर्ने निर्णय गरेको छ ।
फेसबुक, ट्वीटर, युट्युव र इन्स्टाग्राम आदिमार्फत विज्ञापन गर्दा नेपालको अर्बौ रुपैयाँ अवैधानिक रूपमा बाहिरिने गरेको थियो । यसरी विज्ञापन गर्न रोक्दा नेपाल भित्रिने विदेशी मुद्रा बढ्न जाने छ । पछिल्लो समय रेमिटेन्स घट्नुको एक कारणमध्येको अवैधानिक रूपमा गरिने विज्ञापन पनि थियो ।
राष्ट्र बैंकबाट सटही सुविधा नपाइने हुँदा यहाँका एजेन्सीहरुले बाहिर काम गर्ने नेपालीले पठाउने पैसा उतै रोकेर आफैं राख्थे । त्यस बराबरको पैसा उनीहरुले नेपाली रूपैयाँमा परिवारलाई भुक्तानी गरिदिन्थे । यसो हुँदा नेपाल आउने विदेशी मुद्रा रोकिन्थ्यो ।



