नेपाली कांग्रेसको १५औं महाधिवेशन आज
काठमाडौं । कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो ।
महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजेदेखि खुल्ला मञ्चमा सुरु हुनेछ । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने बताएको छ ।
निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिले शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता (रजिस्ट्रेसन) गरेको छ ।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ताका लागि ३५ सय रुपैयाँ तोकिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
नाम दर्ता गर्ने प्रतिनिधिहरूलाई कांग्रेसले झोला दिएको छ । झोलामा पार्टी विधान, डायरी, डटपेन, खाना, खाजा र नास्ताको लागि कुपन र प्रतिनिधि कार्ड राखिएको छ ।
सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने
महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने प्रवक्ता चालिसेले बताए । ‘सात हजार पाँच सयभन्दा बढी प्रतिनिधिहरू यसपटकको महाधिवेशनमा सहभागी हुँदै हुनुहुन्छ,’ उनले भने, ‘जुन नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा ठूलो हो ।’
शनिबार खुल्लामञ्चमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले महाधिवेशनलाई नीति चयनको अधिवेशनका रुपमा परिणत गर्ने प्रयत्न गरिने बताएका छन् । ‘यो अधिवेशन नेता चयनभन्दा नीति चयनको अधिवेशनका रूपमा परिणत गर्ने प्रयत्न गर्नेछौं,’ उनले भने ।



