कृष्ण भुसाललाई ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान-२०८२’
काठमाडौं । मिलाप मासिकका सम्पादक तथा हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान-२०८२’ बाट सम्मानित भएका छन् । गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भुसाललाई नेपाली गीत–सङ्गीत, साहित्य तथा स्रष्टासम्बन्धी विषयलाई पत्रकारितामार्फत प्रवर्द्धन गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
गीतकार सङ्घ नेपालले आयोजना गरेको वार्षिकोत्सव समारोहमा नेपाली गीत–सङ्गीत तथा साहित्य क्षेत्रको विकास, प्रवर्द्धन र संरक्षणमा योगदान पुर्याउने विभिन्न स्रष्टा, गीतकार तथा योगदानकर्तालाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । सोही अवसरमा पत्रकारितामार्फत नेपाली गीत–सङ्गीत र साहित्यिक गतिविधिलाई निरन्तर स्थान दिँदै आएका भुसाललाई पत्रकारिता सम्मान प्रदान गरिएको हो ।
लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय भुसालले विशेषगरी साहित्य, गीत–सङ्गीत, कला तथा सिर्जनात्मक क्षेत्रसँग सम्बन्धित गतिविधिलाई सञ्चारमाध्यममार्फत आम पाठकसम्म पुर्याउँदै आएका छन् । उनले समाचार, अन्तर्वार्ता, समीक्षा तथा विभिन्न साहित्यिक सामग्रीमार्फत नेपाली स्रष्टा र सिर्जनाका
विषयलाई सार्वजनिक बहस तथा सञ्चारको दायरामा ल्याउन भूमिका खेल्दै आएका छन् ।
सम्मान ग्रहणपछि भुसालले आफूलाई उक्त सम्मानका लागि योग्य सम्झिएकोमा निर्णायक समिति तथा गीतकार सङ्घ नेपालको सम्पूर्ण कार्यसमितिप्रति हार्दिक आभार व्यक्त गरे । उनले आफूले पत्रकारितामार्फत गर्दै आएको कर्मलाई सम्मानले थप ऊर्जा र जिम्मेवारी दिएको बताए ।
“यो सम्मान मेरो मात्र होइन, मेरो कलममाथि विश्वास गर्ने सम्पूर्ण शुभेच्छुक, सहकर्मी र पाठकप्रतिको पनि सम्मान हो,” भुसालले भने ।
उनले पत्रकारिताको यात्रामा प्राप्त यस सम्मानलाई आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणाका रूपमा लिएको बताए । नेपाली गीत-सङ्गीत, साहित्य र स्रष्टाका सिर्जना तथा गतिविधिलाई अझ प्रभावकारी ढङ्गले उजागर गर्न आफू निरन्तर सक्रिय रहने उनको भनाइ छ ।
भुसालले गीत-सङ्गीत र साहित्यका क्षेत्रमा सिर्जनशील रूपमा काम गरिरहेका स्रष्टाहरूको योगदानलाई सञ्चारमाध्यमले निरन्तर प्राथमिकताका साथ उठाउनुपर्ने आवश्यकता रहेको समेत उल्लेख गरेका छन् । नेपाली गीत–सङ्गीत तथा साहित्यको समृद्धिका लागि सिर्जनाकर्मसँगै त्यसको दस्तावेजीकरण, प्रचार–प्रसार र सार्वजनिक पहुँच पनि उत्तिकै महत्वपूर्ण हुने उनको धारणा छ ।
पत्रकारितासँगै साहित्यमा समेत विशेष रुचि राख्ने भुसालका जीवनदर्शन, समाज र समसामयिक परिवेशसँग सम्बन्धित कविता विभिन्न सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन् । उनका रचनामा सामाजिक परिवेश, मानवीय संवेदना, जीवनका विविध आयाम तथा समसामयिक विषयले स्थान पाउने गरेका छन् ।
भुसालले पत्रकारितामा समाचार लेखन र सम्पादनसँगै साहित्यिक गतिविधिमा पनि सक्रिय सहभागिता जनाउँदै आएका छन् । विभिन्न स्रष्टाका विभिन्न विधाका डेढ दर्जन भन्दा बढी पुस्तक सम्पादनमा समेत उनले योगदान दिएका छन् । यसले उनको पत्रकारिता र साहित्यप्रतिको रुचि तथा संलग्नतालाई थप प्रस्ट पार्छ ।
गीतकार सङ्घ नेपालले आफ्नो १७औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गर्दै नेपाली गीत-सङ्गीत क्षेत्रमा योगदान पुर्याउने स्रष्टा तथा व्यक्तित्वलाई सम्मान गरेको छ । वार्षिकोत्सव समारोह गीत-सङ्गीत क्षेत्रका स्रष्टा, गीतकार, कलाकार तथा साहित्यप्रेमीहरूको सहभागितामा सम्पन्न भएको थियो ।



