जलवायु संकट सामना गर्न नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ बन्दैछ: प्रकृति ढकाल
न्युयोर्क । प्रधानमन्त्री बालेन साहकी स्वकीय उपसचिव प्रकृति ढकालले जलवायु संकटका कारण नेपालमा विपद्का घटना बढ्दै गएकाले प्रभावित समुदायसम्म प्रभावकारी रूपमा सहयोग पु¥याउन नेपालको विपद् प्रतिकार्य प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने बताएकी छन् ।
संयुक्त राष्ट्रसंघीय महासभा तथा जलवायु सप्ताहका अवसरमा न्युयोर्कमा आयोजित ‘बदलिँदो जलवायु वास्तविकतासँग अनुकूलन ः बढ्दो प्रभावले किन नयाँ प्रतिकार्य माग गर्छ ? ’ विषयक उच्चस्तरीय कार्यक्रममा सहभागी हुँदै ढकालले नेपालले विगतका विपद्बाट प्राप्त अनुभवका आधारमा प्रभावकारी विपद् प्रतिकार्यका लागि आवश्यक संरचना र टोली परिचालन गर्दै आएको बताइन् ।
उनले सन् २०१५ को भूकम्प अघि नेपालले भोगेका विभिन्न विपद्का अनुभवले देशको विपद् प्रतिकार्य प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग गरेको उल्लेख गरिन् ।
ढकालका अनुसार भोटेकोशी बाढीको तत्कालीन अवस्थामा उद्धार, राहत, पुनस्र्थापना, क्याम्प व्यवस्थापन, तथ्यांक अध्ययन तथा कोष व्यवस्थापन लगायतका विभिन्न जिम्मेवारी समेटेर १७ वटा छुट्टाछुट्टै उपसमूहसहितको टोली गठन गरी परिचालन गरिएको थियो ।
उनले विपद्को समयमा प्रभावित तथा बेपत्ता व्यक्तिका परिवारले भोग्नुपरेको पीडाबारे पनि अनुभव सुनाइन् । विशेषगरी विदेशी नागरिकका परिवारबाट आफ्ना आफन्तको अवस्थाबारे जानकारी माग्दै निरन्तर सन्देश आउने गरेको उनले बताइन् ।
ढकालले भनिन्, “उनीहरू मसँग ठूलो अपेक्षा लिएर आउँथे—‘यो व्यक्ति, यो युवती कहाँ छिन् ? मेरो हराएको आफन्तबारे केही जानकारी दिन सक्नुहुन्छ ?’ यस्तो अवस्थामा उनीहरूलाई म के जवाफ दिऊँ भन्ने निकै कठिन हुन्थ्यो ।”
उनले त्यस समयमा ३८ वटा विभिन्न देशका नागरिक हराइरहेको स्मरण गरिन् । विपद्को समयमा उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षा निकायका कर्मचारी र विभिन्न टोलीले गरेको प्रयासको उनले प्रशंसा गरिन् ।
“तर पनि, हामीसँग रहेका सुरक्षा निकायका कर्मचारी र टोलीले गरेको प्रयासको म वास्तवमै प्रशंसा गर्छु,” उनले भनिन् ।
ढकालले अहिले पनि नेपालमा २१ हजारभन्दा बढी सुरक्षाकर्मी विपद् प्रतिकार्यमा परिचालित भएर निरन्तर काम गरिरहेको जानकारी अन्तर्राष्ट्रिय समुदायलाई दिइन् ।
जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली तथा विकासशील मुलुकले बाढी, पहिरो, हिमताल विस्फोट लगायतका विपद्को जोखिम बढ्दो रूपमा सामना गरिरहेकाले अन्तर्राष्ट्रिय सहयोग र प्रभावकारी प्रतिकार्य प्रणाली आवश्यक रहेको उनको धारणा थियो ।
उक्त कार्यक्रममा ढकाल तेस्रो छलफल सत्रमा सहभागी भएकी थिइन् । कार्यक्रममा जलवायु परिवर्तनका कारण बढिरहेका विपद् तथा त्यसबाट प्रभावित समुदायलाई तत्काल र प्रभावकारी सहयोग पु¥याउने उपायबारे छलफल गरिएको थियो ।



