बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीको २५ लाख सहयोग
काठमाडौं । कामना सेवा विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ तथा बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।
उक्त सहयोगबाट प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत र उद्धार कार्यमा थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विपद् प्रभावित समुदाय, मानवीय सहायता तथा सामाजिक हितका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ।
बैंकले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको सुरक्षित र सहज जीवनयापनका लागि शुभेच्छा व्यक्त गरेको छ।


